चिसो बढेपछि कञ्चनपुरका ३ स्थानीय तहका विद्यालयमा बिदा

चिसोले विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका छन्। 

शुक्लाफाँटा नगरपालिका–३ का बासिन्दा चिसोबाट बच्नका लागि मुढा बालेर आगो ताप्दै। तस्वीर: रासस

कञ्चनपुर– एक सातादेखि निरन्तर शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।

चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन्। 

शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा पुस २५ देखि २८ गतेसम्म बिदा दिइएको छ। 

कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ देखि २८ गतेसम्म बिदा दिएको जनाएको छ।