काठमाडौँ उपत्यकामा मेट्रो चलाउनुपर्छ : चिरिबाबु महर्जन

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा मेट्रो चलाउनका निम्ति काठमाडौँ महानगरपालिकासँग आफूहरू सहकार्य गर्न तयार रहेको बताएका छन्।

काठमाडौँ– ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

बिहीबार काठमाडौँ महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौँ महानगरपालिकासँग आफूहरू सहकार्य गर्न तयार रहेको बताएका हुन्।

"अब यहाँ एक किसिमको मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ। तसर्थ यसमा म काठमाडौँ महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडि बढौँ", उनले भने।

त्यसैगरी उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौँ महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे। उनले यसको निम्ति महानगरपालिकालाई अविलम्ब कदम चाल्न आग्रह गरे।

उनले सार्वजनिक खरिद ऐन २०६३ को आमूल सुधार गर्नुपर्ने बताए। सो ऐन स्थानीय पालिकाको लागि असफलसिद्ध रहको भन्दै यसमा सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उल्लेख गरे।