सरकारी ठगी प्रकरण : रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छोड्न आदेश दिएको छ।

काठमाडौँ– पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छोड्न आदेश दिएको छ। 

जिल्ला न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेसँग ६५ लाख र जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरेको हो।

त्यस्तै, अदालतले लीला पछाईं, रामबहादुर खनाल, आरती गुरुङ, मिना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश दिएको छ। 

अदालतले पछाईंलाई ३७ लाख, खनाललाई १५ लाख, आरती र मीनालाई पाँच/पाँच लाख र कृष्णबहादुरलाई एक लाख धरौटीमा छाड्न आदेश दिएको हो।

पुस १६ गतेबाट शुरू भएको सो मुद्दाका सात जना प्रतिवादीको थुनछेक बहस बिहीबार सकिएको हो।

पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा र लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।