धरौटी रकम बुझाएर हिरासतमुक्त भए रवि लामिछाने

पूर्वगृहमन्त्री रवि लामिछाने सूर्यदर्शन सहकारी ठगी मुद्दामा अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने शर्तमा हिरासतमुक्त भएका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा अदालतले तोकेको धरौटी रकम बुझाएर थुनामुक्त भएका छन्। 

जिल्ला न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटी लिई तारेखमा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो। त्यसलगत्तै लामिछानेले ६५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका हुन्।

लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले पनि धरौटी रकम बुझाएका छन्। 

कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार अदालतले जोशीलाई ८८ लाख, खनाललाई १५ लाख, मीना र आरतीलाई पाँच/पाँच लाख र कृष्णलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनीहरू बिहीबार नै धरौटी रकम बुझाएर थुनामुक्त भएका हुन्।

प्रतिवादी लीला पछाईंले भने बिहीबार धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहने भएका छन्। लीलासँग अदालतले ३७ लाख रुपैयाँ धरौटी माग गरेको छ।

लामिछानेविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताको रकम अपचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा परेको छ। शुक्रबार आफै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई पार्टी र परिवारको जिम्मा लगाएको हो।

उनीविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा सहकारी गरेको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

सूर्यदर्शन सहकारी प्रकरणमा अदालतमा १० दिनसम्म चलेको थुनछेक बहसपछि बिहीबार प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश भएको हो।  

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ।