रुसमा उडान भर्नु नागरिक उडानका लागि उच्च जोखिम : ईयू एजेन्सी

अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रुसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ देखिएको युरोपेली संघको उड्डयन सुरक्षा एजेन्सीले जनाएको छ।

युक्रेनमा जारी युद्धबीच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रुसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ देखिएको युरोपेली संघको उड्डयन सुरक्षा एजेन्सी (इएएसए)ले जनाएको छ।

इएएसएले एक सुरक्षा बुलेटिनमा भनेको छ, “द्वन्द्वले सम्भावित नागरिक–सैन्य समन्वयको कमी र गलत पहिचानको सम्भावनाका कारण रुसी संघको हवाई क्षेत्रमा नागरिक विमान अनाहकमा निशाना हुने खतरा उत्पन्न गरेको छ।”

इएसएसले एयरलाइन्सका लागि पश्चिमी रुसी हवाई क्षेत्रमा उडान नगर्न यसअघि दिएको सिफारिसलाई दोहोर्‍याएको छ।

रुसले इयूका विमानलाई आफ्नो हवाई क्षेत्रमा उडान भर्न प्रतिबन्ध लगाएको छ। तर चीन, टर्की, खाडी मुलुक र अन्य मुलुकका विमानलाई भने अनुमति दिइएको छ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले गत डिसेम्बर २५ मा कजाकिस्तानमा ३८ जनाको ज्यान जाने गरी दुर्घटनाग्रस्त भएको अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमानलाई रुसी शहर ग्रोज्नीमाथि ‘जमिनबाट’ गोली हानेको दाबी गरेका छन्।

रुसले युक्रेनी ड्रोनलाई प्रतिकार गर्ने समयमा आफ्नो एयर डिफेन्सले काम गरिरहेको बताएको छ। तर उसले विमानमा गोली लागेको अस्वीकारेको छ।

इएएसएले युक्रेनी क्षेप्यास्त्र र रुसमा प्रक्षेपण गरिएका ड्रोनको सामना गर्न रुसी हवाई प्रतिरक्षा प्रणालीको सक्रियताले ‘प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसहित धेरै स्थानहरूमा उडान सञ्चालनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ’ भनेको छ।

“ड्रोन आक्रमण वा हवाई प्रतिरक्षा प्रणालीको सक्रियताका बेला रुसी महासंघले बन्द नगरेको हवाई क्षेत्रमा अधिकांश घटना भएका छन्,” बुलेटिनमा भनिएको छ, “सन् २०२४ डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको फ्लाइट ८२४३ मा भएको घटनाले देखाएझैँ यसले उडान सञ्चालनका लागि उच्च जोखिम निम्त्याएको छ।”