बाजुरामा जिपको ठक्करबाट पैदलयात्रुको मृत्यु

बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।

बाजुरा– बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।

कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नम्बरको जिपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रूपीसवा धामीलाई ठक्कर दिएको थियो।

बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामी जिपको ठक्करबाट गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

धामीलाई ठक्कर दिने जिपका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।