कोलम्बियामा जहाज दुर्घटना हुँदा १० जनाको मृत्यु

जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए। उनीहरू सबैको मृत्यु भएको बताइएको छ।

उत्तरपश्चिमी कोलम्बियामा जहाज दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। 

प्यासिफिक ट्राभलद्वारा सञ्चालित उक्त जहाज बुधबार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ। जहाजमा चालक दलका दुई सदस्य र आठ यात्रु सवार थिए।

एन्टिओक्वियाको जोखिम व्यवस्थापन विभागका निर्देशक कार्लोस रियोस पुएर्टाले जहाजमा सवार सबैको मृत्यु भएको बताए। “साइटमा ३७ जना कर्मचारी उद्धारमा खटिरहेका छन्। प्रतिकूल मौसमी अवस्थाले कठिन भएको छ,” उनले भने। 

प्यासिफिक ट्राभलले विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। “हामी सधैँ तिनीहरूको साथमा रहनेछौँ। यस दुखद घटनाबाट उत्पन्न हुने हरेक आवश्यकतालाई पूरा गर्नेछौँ,” विज्ञप्तिमा भनिएको छ।