जेजु एयरको विमान दुर्घटना हुनुअगावै रोकिएको थियो ब्ल्याक बक्समा रेकर्डिङ

दक्षिण कोरियाको यातायात मन्त्रालयले अनुसन्धानका क्रममा दुर्घटनाग्रस्त जेजु एयरको विमानको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि नै रेकर्डिङ गर्न छोडेको पाइएको जनाएको छ।

दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि नै रेकर्डिङ गर्न छोडेको जनाएको छ।

गत डिसेम्बर २९ मा थाइल्यान्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्दा पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई जीवितै उद्धार गरिएको थियो। यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो।

“विश्लेषणले सीभीआर र एफडीआर दुवैले दुर्घटना हुनुभन्दा चार मिनेट पहिल्यैबाट रेकर्ड नगरेको देखाएको छ,” यातायात मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रारम्भिक अनुसन्धानमा विमान अवतरणमा मद्दत गर्ने या ‘ब्लाइन्ड ल्यान्डिङ’मा प्रयोग हुने रेडियो ट्रान्समिटर (लोकलाइजर) दुर्घटनाको गम्भीरता बढाउने प्रमुख कारण औँल्याइएको छ।

क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरलाई दक्षिण कोरियाली अधिकारीले डाटा विश्लेषणका लागि अपर्याप्य भनेका थिए। यसलाई अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा विश्लेषणको लागि संयुक्त राज्य अमेरिका पठाएका थिए।

उडानको अन्तिम क्षणसम्मको जानकारी रेकर्ड गर्ने ब्ल्याक बक्समा तथ्यांक नष्ट भएको पाइएको, यो किन र कसरी भयो भन्नेबारे खोजी भइरहेको अधिकारीले बताएका छन्। “जारी दुर्घटना अनुसन्धानका क्रममा तथ्यांक हराउनुको कारण पत्ता लगाउने प्रयास जारी छ,” मन्त्रालयले भनेको छ।

दक्षिण कोरियाली र अमेरिकी अन्वेषकले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले ती बक्स अनुसन्धानका लागि महत्त्वपूर्ण रहेको बताउँदै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास जारी रहने बताए। 

“विभिन्न तथ्यांकको परीक्षण र विश्लेषण गरेर अनुसन्धान गरिनेछ। दुर्घटनाको कारण पत्ता लगाउन समिति सक्दो प्रयास गर्न प्रतिबद्ध छ," मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानकर्ताले चरा ठोक्किनु, अवतरण गियरमा खराबी र रनवेको अवरोधलाई सम्भावित कारणका रूपमा औँल्याएका छन्।

चालकले पहिलो अवतरण प्रयासअघि नै चरासँग ठक्कर खानसक्ने चेतावनी दिएका थिए, त्यसपछि दोस्रो अवतरण प्रयासमा ल्यान्डिङ गियरले काम गरेको थिएन।

यसै हप्ता प्रमुख अनुसन्धानकर्ता ली सेउङ–योलले पत्रकारसँग कुरा गर्दै घटनास्थलमा रहेको विमानको एउटा इन्जिनमा ‘प्वाँख फेला परेको’ बताएका थिए।

अधिकारीहरूले दुर्घटना भएको स्थान मुआन विमानस्थल, दक्षिणपश्चिमी शहरमा रहेको क्षेत्रीय उड्डयन कार्यालय र राजधानी सियोलस्थित जेजु एयरको कार्यालयमा छापा मारेका छन्। उनीहरूले जेजु एयरका प्रमुख कार्यकारीलाई पनि देश छोडी बाहिर जान रोक लगाएका छन्।

विपक्षी दलले दुर्घटनाको छानबिनका लागि संयुक्त कार्यदल गठन गरेका छ भने यातायातमन्त्री पार्क साङ–वूले यसै साता राजीनामा दिएका छन्। राजीनामाको घोषणा गर्दै उनले भनेका छन्, “उड्डयन सुरक्षाको जिम्मेवारीमा रहेको मन्त्रीको हैसियतले मैले यस त्रासदीप्रति ठूलो जिम्मेवारी महसुस गरेको छु र स्वतन्त्र अनुसन्धानका लागि मार्गप्रशस्त गरेको छु।”