पश्चिम नेपालबाट पुनः मौसम बदली शुरू, आइतबार वर्षाको सम्भावना

मौसमविद् विनु महर्जनका अनुसार आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात, दिउँसोतिर हल्का वर्षाको सम्भावना रहेको छ। 

काठमाडौँ– मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली शुरू भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली शुरू भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिइन्।

उनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण यसरी बदली शुरू भएको हो। आइतबार दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली हुने मौसमविद् महर्जनले बताइन्।

मौसमविद् महर्जनका अनुसार आइतबार सबै प्रदेशका उच्च र हिमाली क्षेत्रमा हिमपात, दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

केही दिनअघि भएको बदली जस्तै देखिने भए पनि ठूलो पानी पार्ने ‘स्ट्रङ’ प्रणाली भने नदेखिएको बताउँदै उनले सोमबारदेखि मौसम सुधार हुने जानकारी दिइन्। तराईका कतिपय क्षेत्रमा क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। पछिल्ला दिनमा देशभरको चिसो बढिरहेकाले ठाउँ–ठाउँमा जनजीवन प्रभावित भएको छ।