न्यायाधीश सरुवाले पर्वत जिल्ला अदालतमा मुद्दा सुनुवाइ ठप्प

पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ। न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठवटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ।

पर्वत– जिल्ला अदालत पर्वतका न्यायाधीश विद्याराज पौडेलको सरुवा र उनको स्थानमा न्यायाधीश नआउँदा विगत १५ दिनदेखि मुद्दाको सुनुवाइ ठप्प भएको छ। 

न्यायाधीश पौडेलको पुस १२ गते मुस्ताङ जिल्ला अदालतमा सरुवा भएको थियो। अदालतमा रहेका मुद्दाको उक्त दिनदेखि सुनुवाइ हुन सकेको छैन। 

न्यायाधीश पौडेलको स्थानमा पर्वत जिल्ला अदालतमा अछामबाट प्रकाश ढुंगानाको सरुवा भएको छ। अछामबाट सरुवा भएका जिल्ला न्यायाधीश कार्यक्षेत्रमा उपस्थित भएका छैनन्। न्यायाधीश नहुँदा दैनिक मुद्दा सुनुवाइ कार्य रोकिएको पर्वत जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रप्रकाश खड्काले बताए।

यौन दुर्व्यवहार घटनाकी पीडित एक महिलाले पटक–पटक मुद्दा सुनुवाइ कार्य स्थगन हुँदा आफूले समयमा न्याय पाउन नसकेको गुनासो गरिन्। २०८१ वैशाखमा यौन दुर्व्यवहार घटनाकी पीडित ती महिलाको अदालतमा मुद्दा चालु प्रक्रियामा छ। आरोपित पुर्पक्षका लागि थुनामा भए पनि एउटै मुद्दा नौ पटकसम्म इजलासमा पेशी चढेको अदालतको तथ्यांकमा उल्लेख छ।

तर नौ पटकसम्म पेशीका रूपमा इजलास पेस भएको मुद्दा ६ पटक विविध कारण देखाएर स्थगन भएको छ भने दुई पटकमात्र आदेश भएको छ। न्यायका लागि अदालतमा आएका सर्वसाधारण मुद्दा सुनुवाइ प्रक्रिया स्थगन हुँदा र समयमा मुद्दा फर्छ्योट हुन नसक्दा समस्यामा परेका छन्।

पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ। न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठवटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ। सामान्य थुनछेक आदेश कार्य भने नरोकिएको श्रेस्तेदार खड्काले बताए। पछिल्लो समय जिल्ला अदालतमा आर्थिक लेनदेनका मुद्दासँगै दुनियाबादी देवानी मुद्दाको संख्या अधिक रहेको उनले बताए।