लस एन्जलस आगलागी: ‘बम खसेजस्तो’ भयानक अवस्था

शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो। यीमध्ये अधिकांश मानिसले आफूले बोक्न सक्ने सामान लिएर घर छोडेका थिए।

तस्वीर: एएफपी

अमेरिकाको लस एन्जलसमा डढेलोका कारण बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन खरानी भएको छ।

आगलागीका कारण ११ जनाको मृत्यु भएको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बाहिर आइरहेका तस्वीरले विपत्ति कति ठूलो छ भन्ने देखाएको छ। 

सयौँ घर ध्वस्त भएका छन्। गाडीहरू जलेका छन्। एटीएम काउन्टर भग्नावशेषमा परिणत भएका छन्। हावाहुरीले रूख ढलेका छन्।

लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपत्काल घोषणा गरेका छन् र वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन्। यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँको चादरले ढाकिएको छ।

प्रशासनले मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ। दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

समाचार संस्था एएफपीका अनुसार आगो निभाउन हजारौँ अग्निनियन्त्रक खटिएका छन्। यद्यपि धेरै ठाउँमा आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरुद्ध भएको छ। 

स्थानीय ग्रेग च्याम्पियनले पनि आगलागीले सम्पूर्ण क्षेत्रलाई आतंकित बनाएको बताए। “यहाँको अवस्था बमले ध्वस्त पारेकोजस्तो छ,” प्यासिफिक पालिसेडमा आफ्नो जलेको घरको अगाडि उभिएर उनले भने। 

मौसम र जलवायु परिवर्तनको असरले आगामी दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञले आशंका छन्। लस एन्जलस काउन्टीमा शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो। यीमध्ये अधिकांश मानिसले आफूले बोक्न सक्ने सामान लिएर घर छोडेका थिए।

यसबाहेक, एक लाख ६६ हजार बासिन्दालाई उनीहरूले चाँडै आफ्नो घर छोड्नु पर्ने हुन सक्छ भनी चेतावनी दिइएको छ।