विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसान हैरान हुनु परिरहेको थियो।
बरहथवा– उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई शुरूमा त पत्याउनै मुस्किल भयो। विगतमा वर्षौंसम्म चिनी उद्योगले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उनीजस्ता किसानले यसपटक समयमै भुक्तानी पाएका छन्।
विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौंसम्म पनि भुक्तानी नदिने समस्याबाट किसान हैरान हुनु परिरहेको थियो। तर, यस वर्ष उखु क्रसिङ पहिला नै समर्थन मूल्य तय भएको र उद्योगीले पनि उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी दिन थालेपछि किसानलाई उखुखेती फेरि नगदेबाली हो भन्ने लाग्न थालेको पाण्डेले बताए।
पाण्डेले यस वर्ष चार बिघामा उखु लगाएका छन्। पहिलोपल्ट उनले गत मंसिर २७ गते उद्योगमा उखु बेचेका थिए। इन्दुशंकर चिनी उद्योगको मिलगेट क्षेत्रका उखु किसान पाण्डेले हप्ता दिनमै बैंकमा पैसा जम्मा भएको घण्टी बजेपछि खुशीले गद्गद् भए। “अब बल्ल उखु नगदेबाली हो भन्ने लागेको छ,” उनले भने, “किनकि यो वर्ष उखुको पैसा हाताहाती जस्तै आइरहेको छ।”
शुरूमा उखुखेती गर्दा मूल्य र भुक्तानी के हुने हो भन्ने चिन्ताले पाण्डेलाई नसताएको होइन। तर, यस वर्ष उखु बिक्री गरेर समयमै भुक्तानी पाएपछि उखुखेतीप्रति आकर्षण बढेको पाण्डेले सुनाए। उखुको समर्थन मूल्यमा राज्यले किसानको लगानी र चिनीको मूल्यलाई आधार बनाएर तोक्ने र उद्योगले किसानको भुक्तानी व्यवस्थित गर्ने हो भने किसान उत्साहित भएर उखुखेती गर्न तयार रहेको उनी बताउँछन्।
हरिवन नगरपालिका–३, का गोपी तिमल्सिनाको पनि अनुभव उस्तै छ। विगत वर्ष झैँ अब किसानले गुलियो उखु लगाएर अमिलो अनुभव गर्न नपरोस् भन्ने उनको कामना छ। हरिवनको इन्दुशंकर चिनी उद्योगमा उखु बेचेको पैसा हप्ता दिनमा आफ्नो खातामा आएको उनले बताए। राज्यलेसमेत अनुदानबापतको रकम किसानको खातामा जम्मा गरिदिनुपर्ने उनको धारणा छ।
“समयमै भुक्तानी गर्नुपर्छ, अनि मात्र फेरि उखु नगदेबाली बन्छ। किसान पनि खेती गर्न उत्साहित हुन्छन्,” उनले भने। यस वर्षबाट हप्ता दिनमै किसानको खातामा पैसा जम्मा गर्न थालेपछि किसान उत्साहित बनेका हुन्। उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका महाप्रबन्धक योगनारायण रजकले जानकारी दिए। किसानसँग एक महिनाभित्र भुक्तानीको सहमति भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी गरिरहेको उनको भनाइ छ।
महाप्रबन्धक रजकका अनुसार उद्योगले पुस २० गतेसम्म किसानबाट ६ लाख १७ हजार २०० क्विन्टल उखु खरिद गरी क्रसिङ गरिएकामा यही पुस १७ गतेसम्मको उखुको २८ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। मंसिर २७ देखि सञ्चालनमा आएको उद्योगले यो तेस्रो पटक किसानको खातामा रकम जम्मा गरेको हो। उद्योगले उखु उत्पादन बढाउनका लागि उन्नत जातको बीउ, मल, विषादीको प्रयोगको साथै तालिम, गोष्ठी तथा किसानलाई प्राविधिक सेवासमेत अभियानकै रूपमा प्रदान गरिरहेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले बताए।
किसान खुशी पारेर उखु तान्नसमेत उद्योगले भुक्तानी छिटोछिटो गरिरहेका नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ। जिल्लामा सञ्चालनमा रहेकामध्ये बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले र धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले भने विगतका वर्षमासमयमै भुक्तानी नगरेको किसानको भनाइ छ। रामनगर गाउँपालिका–४ का नितिन रायले अन्नपूर्ण चिनी उद्योगका पुराना सञ्चालकसँग आफ्नो फसल बेचेको पैसा लिन निकै संघर्ष गर्नुपरेको सुनाए। यस उद्योगका नयाँ व्यवस्थापनले भने यस वर्षबाट उखुको भुक्तानी व्यवस्थित गरेको दाबी गरिरहेका छन्। गत मंसिर ६ गतेदेखि क्रसिङ शुरू गरेको यस उद्योगले पुसको पहिलो हप्तासम्मको भुक्तानी किसानको खातामा पठाइसकेको जनाएको छ।
विगतको वर्षमा उखु दिएको वर्षौंसम्म पैसा नपाएका किसानले यसवर्ष भने उखु बेचेको १५/१५ दिनमा पैसा खातामा जम्मा भएको भन्दै खुशी व्यक्त गरेका छन्। धन्कौल–५ निवासी वीरेन्द्र महतोले उखु बेचेको १४ दिनमा दिन पैसा पाएको बताए। “हामीले सधैँ उधारोमा उखु उद्योगलाई दिँदै आएका थियौँ,” उनले भने, “हामीसँग अरू विकल्प पनि थिएन। तर यस वर्ष पैसा पनि आइरहेको छ।” अब पहिलेको जस्तो उखु बेचेको पैसा माग्न पुस/माघको ठन्डीमा काठमाडौँ जान नपरोस् भन्ने उनको पनि कामना छ।
१५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको यस उद्योगले पनि हालसम्म चार लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ। राज्यले तय गरेको समर्थन मूल्य ५८५ रुपैयाँ प्रतिक्विन्टलको दरले ११ करोड रकम भुक्तानी गरेको उद्योग सञ्चालक शैलेन्द्र गुप्ताले जानकारी दिए।
स्थानीय जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूले उद्योगसँग मिलेर अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगमा उखु बेच्न किसानलाई जबरजस्ती बाध्य पारेको किसानको गुनासो छ। स्थानीयस्तरमा भएका उद्योगबाट किसानले लाभ लिन सक्ने र यस उद्योग जोगिए स्थानीय रोजगारीदेखि औद्योगिक विकासमा टेवा पुग्ने जनप्रतिनिधिको भनाइ छ। उद्योगले किसानको भुक्तानीमा आनाकानी गरे आफूहरू किसानको पक्षमा रहेको बलरा नगरपालिकाका मेयर रामाशंकरप्रसाद कुशवाहाले बताए।
गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योग पनि किसानलाई नियमित भुक्तानी दिएर किसान फकाउन लागिपरेको छ। विगतमा किसानसँग बिग्रिएको सम्बन्ध समेत सुधार गर्ने योजनासहित यस वर्ष उखुको भुक्तानी प्रत्येक १५ दिनमा किसानहरूको खातामा पठाइरहेको उद्योगले जनाएको छ। यस उद्योगमा उखु बेचेका गोडैता नगरपालिका–५ का उखु किसान रामविनय महतोले उखुको भुक्तानी पाएको बताए।
हालसम्म २०० क्विन्टल उखु बेचेका उनको खातामा १५० क्विन्टल उखुको पैसा जम्मा भइसकेको छ। “यसपटक विगत वर्षमा जस्तो उखुको भुक्तानी माग्न पटक–पटक उद्योगी र कर्मचारी खोज्दै उद्योग धाउन परेन,” उनले भने। “पहिला उखु दियो पैसा माग्न धाउनुपर्थ्यो,” उनले भने, “यसपटक १५ दिन पहिला नै उखुको पैसा खातामा आइसकेको छ।”
विष्णु गाउँपालिका–७, का सिकिन्दर मण्डलले अघिल्लो वर्ष उखु उधारोमा मिललाई दिएर साहुसँग ऋण गरेर परिवारको पालनपोषण गरेको तीतो यथार्थ पोखे। “उखु बेचेर पनि समयमै भुक्तानी नपाउँदा ऋणमा डुब्नुपर्ने अवस्था थियो,” उनले भने, “त्यसैकारण मैले धेरै उखु हटाएर अन्य बाली पनि लगाएँ। तर, खोला र जंगल नजिकका खेतमा जंगली जनावर र वर्षाको भलले अन्य बाली पनि राम्रो भएन। अब उखु नै लगाउने निधो गरेँ।”
मंसिर १२ गतेदेखि सञ्चालनमा आएको यस उद्योगले पनि यस वर्ष हालसम्म पाँच लाख दुई हजार क्विन्टल बढी उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय अधिकृत शिवशंकर महतोले बताए। उनका अनुसार यस उद्योगले यसवर्ष २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ। उद्योगले क्रसिङ गरेकोमध्ये २५ दिनको उखुको भुक्तानी गरिसकेको र १५ दिनको बाँकी रहेको उद्योगका प्रशासकीय अधिकृत महतोको भनाइ छ। किसानले ल्याउने उखुमा चिनीको मात्र कम हुँदा उद्योग संकटमा परेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
