अन्टार्कटिकाबाट वैज्ञानिकहरूले निकाले १२ लाख वर्ष पुरानो बरफ

करिब २.८ किलोमिटर गहिराईमा ड्रिल गरेर निकालिएको बरफको यस नमूनाले पृथ्वीमा भएको मौसम परिवर्तनसम्बन्धी जानकारी पत्ता लाग्ने विश्वास गरिएको छ।

काठमाडौँ– वैज्ञानिकहरूको टोलीले अन्टार्कटिकाको सतहमुनिबाट १२ लाख वर्ष पुरानो बरफ निकालेका छन्।

करिब २.८ किलोमिटर गहिराईमा ड्रिल गरेर निकालिएको बरफको यस नमूनाले पृथ्वीमा भएको मौसम परिवर्तनसम्बन्धी जानकारी पत्ता लाग्ने विश्वास गरिएको छ।

यस पुरातन बरफको अनुसन्धानले पृथ्वीको वायुमण्डल र जलवायु कसरी परिवर्तन भयो भनेर बुझ्न मद्दत गर्नेछ। यसले हिमयुग चक्रमा के परिवर्तनहरू भए र वायुमण्डलमा कार्बनमा हुने परिवर्तनले जलवायुलाई कसरी असर गर्‍यो भन्ने कुरा पनि प्रकट गर्नेछ।

“यस बरफको नमूनाको मद्दतले हामी वायुमण्डलमा हरितगृह ग्यास, रसायन र धुलोको स्तरमा के परिवर्तनहरू भए भन्ने बुझ्न सक्षम हुनेछौँ,” यस अभियानमा संलग्न इटालियन ग्लेसियोलोजिस्ट तथा ‘बियोन्ड एपिका’ परियोजनाका संयोजक कार्लो बारबान्टेले भने।

बारबान्टे इटालीको राष्ट्रिय अनुसन्धान परिषद्को ध्रुवीय विज्ञान संस्थानका निर्देशक पनि हुन्।

वैज्ञानिकहरूले चार वर्षको कडा परिश्रमपछि बरफ निकाल्न सफल भएका हुन्। अन्टार्कटिकाको कडा चिसो (माइनस ३४ डिग्री सेल्सियस)मा १६ वैज्ञानिक र सहायक कर्मचारीहरूको टोलीले चार वर्षसम्म यो काम गरेका थिए।

यसअघि सोही टोलीले करिब ८ लाख वर्ष पुरानो बरफको नमूना निकालेको थियो।