मकवानपुरबाट लागुऔषधसहित ३ जना पक्राउ

मकवानपुर प्रहरीले अफिम, चरेस र गाँजासहित दुई भारतीय र एक नेपाली नागरिक गरी ३ जनालाई नियन्त्रणमा लिएको छ।

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरू सवार दुई वटा भारतीय नम्बर प्लेटका कारलाई पनि नियन्त्रणमा लिइएको छ।

गए राति करिब २ बजे आसपासमा थाहा नगरपालिका–११ टिस्टुङ नौखनडेस्थित त्रिभुवन राजपथमा इलाका प्रहरी कार्यालयले भारतीय नम्बर प्लेट डीएल ८ सीएक्स १२२४ को कार जाँचका क्रममा २१ केजी ४६० ग्राम चरेस, तीन केजी ४७० ग्राम अफिमसहित कारमा सवार भारतीय हरियाणा राज्री जिल्ला हिसार गोविन्दनगर बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका २० वर्षीय मनिस कुमारलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

साथै, आइतबार बिहान ५ः३० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चितवनबाट वीरगन्ज जाँदै गरेको भारतीय नम्बर प्लेट डिएल १३ सी १५६१ को कार जाँच गर्दा १०१ केजी गाँजासहित पर्सा वीरगन्ज महानगरपालिका–२६ अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूउपर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।