लस एन्जलसको डढेलोमा ज्यान गुमाउनेको संख्या १६ पुग्यो

लस एन्जलसमा फैलिएको डढेलोबाट कम्तीमा १६ जनाको मृत्यु भएको छ भने १२ हजारभन्दा बढी संरचना जलेका छन्।

तस्वीर : एएफपी

हावाको वेगसँग दिशा परिवर्तन गरी नयाँ क्षेत्रहरूतर्फ फैलिँदा अग्नि नियन्त्रक शनिबार लस एन्जलस वरिपरिको भीषण डढेलो नियन्त्रण लिन समयसँगै दौडिरहेका थिए।

शहरभर फैलिएको डढेलोबाट कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। डढेलोले समुदायलाई तहसनहस पारेको छ र हजारौँ अग्नि नियन्त्रक र लाखौँ क्यालिफोर्नियाका बासिन्दाको साहसको परीक्षा लिइरहेको छ।

हवाई कर्मचारीबाट सटिक उडानसहित वीरतापूर्ण नियन्त्रण प्रयास भए पनि पालिसेड्स आगलागी बढ्दै पूर्वमा गेट्टी सेन्टर कला संग्रहालयको बहुमूल्य संग्रहहरू र उत्तरमा घना जनसंख्या भएको सान फर्नान्डो उपत्यकातर्फ फैलिँदै गएको छ।

सारा कोहेनले लस एन्जलस टाइम्सलाई आफ्नो टार्जानास्थित घरमाथिको खतराबारे भनिन्, “हामी चिन्तित छौँ, जब–जब उनीहरूले पानी खसाल्छन्, स्थिति राम्रो हुन्छ तर फेरि खराब हुन्छ।”

मन्डेभिल क्यानियन क्षेत्रका फुटेजमा एउटा घर जलिरहेको देखाइएको छ। हावा द्रुत गतिमा हावाहुरीमा परिणत भइरहेको छ र यसले मौसम पूर्वानुमानकर्ताका अनुसार आगामी दिनमा आगलागीलाई बढाउनेछ।

“दुर्भाग्यवश, दक्षिणी क्यालिफोर्नियाका लागि आज फेरि गम्भीर आगलागी–मौसमी अवस्था बढ्नेछ र कम्तिमा अर्को हप्ताको शुरूसम्म यस्तै रहनेछ”, राष्ट्रिय मौसम सेवाले भनेको छ, “यसले जारी आगलागीलाई विस्तारका साथै नयाँ आगलागीका घटना विकासमा योगदान पुर्‍याउन सक्छ।”

स्थानीयलाई शहरमा फैलिएको बाक्लो धुवाँका विषाक्त कणयुक्त हावामा सास फेर्नबाट बच्नका लागि घरबाहिर ननिस्कन, निस्किनुपरे मास्क लगाउन चेतावनी दिइएको छ।

पालिसेड्स आगलागी शनिबार ११ प्रतिशत नियन्त्रणमा थियो। यो आगलागी २३ हजार ६०० एकड (९ हजार ५०० हेक्टर) सम्म फैलिएको छ। इटन आगलागी १४ हजार एकडमा फैलिएको छ। यो १५ प्रतिशत नियन्त्रणमा आएको थियो।

आधिकारिक तथ्यांकले १२ हजारभन्दा बढी संरचना जलेर नष्ट भएका छन्। लुटपाट रोक्न रातको समयमा कर्फ्युको आदेश जारी भएको छ। प्रहरी र नेसनल गार्डले मानिसलाई विपद् क्षेत्रमा प्रवेश गर्न रोक्नका लागि चौकी स्थापना गरेका छन्।

यस त्रासदीमा ज्यान गुमाउनेमध्ये सन् १९९० को दशकमा बेलायती टिभी शो ‘किड्डी क्यापर्स’मा देखिएका पूर्व अस्ट्रेलियाली बाल कलाकार रोरी साइक्स पनि छन्।

“मेरो सुन्दर छोरा रोरी साइक्सको हिजो मालिबु आगलागीमा मृत्यु भएको घोषणा गर्नुपर्दा म अत्यन्त दुःखी छु,” उनकी आमा शेली साइक्सले सामाजिक सञ्जालमा लेखेकी छन्।

एफबीआई र ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्स (एटीएफ) र स्थानीय अधिकारीहरू मिलेर आगलागीको कारण पत्ता लगाउन ठूलो अनुसन्धान भइरहेको लस एन्जलस काउन्टीका सेरिफ रोबर्ट लुनाले बताए।

“हामी कुनै कसर बाँकी राख्ने छैनौँ, यदि यो आपराधिक कार्य हो भने –– म यस्तै हुन्छ भन्दिनँ –– यदि हो भने, जसले यो गर्‍यो या जुन समूह जिम्मेवार छ, उनीहरूलाई पक्राउ गर्नुपर्छ,” लुनाले भने।