सहकारीमा देखिएको समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैन : सहकारी सचिव

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले अर्थतन्त्र चलायमान गराउन सहकारीमा देखिएका समस्या समाधान हुनुपर्ने बताएका छन्।

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म अर्थतन्त्र चलायमान नहुने बताएका छन्। 

बिहीबार मन्त्रालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिन विमोचन कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताएका हुन्।

उनले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहे जसरी अर्थतन्त्रलाई चलायमान गराउन चुनौती रहेको बताए। त्यस्तै, सहकारी तथा सरोकारवाला निकाय ‘कम्फट जोन’मा बसेर सहकारीहरूको प्रगति नहुने उनले बताए। 

सचिव रेग्मीले सहकारीलाई प्रोत्साहन, विस्तार, नियमन र अन्तर निकायसँग समन्वय कसले गर्ने विषयमा यकिन हुन आवश्यक रहेको बताए। उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ‘हट आइरन’को रूपमा सहकारीहरूको व्यवस्थापन गर्नुपर्ने बताए। 

यो पनिः संकटमा सहकारी : बचतकर्ताको रकम जोखिममा, नियामक निकाय उदासीन

उनले भने, “अब सहकारीहरूले कम्फट जोन छाड्नुपर्छ । सहकारीलाई कसले प्रोत्साहन गर्ने, कसले बिस्तार गर्ने, को नियामकमा बस्ने र कसले अन्तरनिकायहरूसँग समन्वय गर्ने विषयमा यकिन हुनुपर्छ। नत्र कम्फट जोनमा बसेर सहकारीहरूको प्रगति हुँदैन।” 

उनले गलत काम गर्ने सहकारीलाई समितिले कारबाही गर्दा बचतकर्ताको रकमलाई समेत सुरक्षित गर्ने अभियानमा आफूहरू लागेको बताए। उनले भने, “सरकारले समग्र सहकारीलाई सुशासनयुक्त बनाउनमा सबैको सहकार्य आवश्यक छ।”

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानून पुराना भएकाले यसलाई समयानुकूल बनाउन आवश्यक रहेको औँल्याए। उनले स्थानीय सरकारले पनि सहकारी ऐन बनाउने प्रावधान रहेता पनि नियमन कसले गर्ने अन्योल रहेको बताए।

उनले अहिले चलिरहेको सहकारी ऐनलाई थप परिमार्जन गरी समयानुकूल कानूनी बनाउन आवश्यक रहेको बताए।