रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कप

साउदी अरबको जेद्दाहमा आइतबार सम्पन्न स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५–२ गोल अन्तरले पराजित भएको हो।

काठमाडाैँ– रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ।

साउदी अरबको जेद्दाहमा आइतबार सम्पन्न कपको फाइनलमा बार्सिलोनासँग रियल ५–२ गोल अन्तरले पराजित भएको हो। यसअघि अक्टोबरमा घरेलु लिगमा रियल बार्सिलोनासँग ४–० ले पराजित भएको थियो।

किलियन एमबाप्पेले आफ्नो दोस्रो क्लासिकोमा रियललाई शुरूआतमै अग्रता दिलाएका थिए। तर, बार्सिलोनाले राफिन्हाको दुई तथा लामिन यमल, रोबर्ट लेवान्डोव्स्की र एलेजान्ड्रो बाल्डेको एक/एक गोलमा रियललाई पछि पार्दै उपाधि जित्यो। पाँच लगातार जितपछि रियलले पहिलोपल्ट हार बेहोरेको हो।

बार्सिलोनाका गोलकिपर वोइचेक स्जेन्स्नी ५६औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाड्नु परेको थियो। स्जेन्स्नीले ‘ब्रेकअवे’ गर्न खोज्दा डिबक्सबाहिर फउल गरेपछि रातो कार्ड पाएका थिए। 

सन् २०२५ मा बार्सिलोनाको यो लगातार तेस्रो जित हो। गत वर्षको अन्त्यमा बार्सिलोनाले लगातार दुई खेल गुमाएको थियो।