सरकार बनाउन शक्ति बाँडफाँट पेचिलो बनिरहँदा सत्ता गठबन्धनभित्र नयाँ राष्ट्रपतिबारे रोचक विकासक्रम देखापरेको छ। त्यहाँ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम ‘नयाँ राष्ट्रपति’का रूपमा प्रवेश भएको छ।
काठमाडौँ– निर्वाचनको ताजा परिणामअनुसार नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनका दलहरू आन्तरिक र एकापसमा समेत सघन परामर्शमा जुटेका बेला अबको सरकारको रूपरेखा लगभग प्रष्ट भइसकेको छ। परिस्थितिमा कुनै नाटकीय फेरबदल नभए सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने, कांग्रेसबाट सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने गठबन्धनभित्र लगभग तय छ। सरकारको नेतृत्वमा यसपछि कति अवधिमा ‘आलोपालो’ गर्ने र कसरी गर्ने, मन्त्रालयहरूको भागवण्डा कसरी मिलाउने भन्नेबारे मात्र निर्क्योल हुन बाँकी छ।
गठबन्धनभित्र दलहरूबीच शक्ति बाँडफाँटको रस्साकस्सीमा प्रधानमन्त्री र सरकारको स्वरूपभन्दा अरू नै पदमा ‘हिसाब मिलान’ पेचिलो बन्ने देखिएको छ। त्यसमा पछिल्लो समय एकाएक प्रमुख बनेको सवाल हो– अबको राष्ट्रपति को?
कांग्रेसभित्र प्रधानमन्त्री र राष्ट्रपति आफैँसँग राख्नुपर्ने आवाज उठिरहेको छ। सत्ता गठबन्धनका अरु दलले राष्ट्रपतिमा दाबी गरिसकेका छैनन्। यतिन्जेलसम्मका घटनाक्रम हेर्दा कांग्रेस राष्ट्रपति अरू दललाई सुम्पने मनस्थितिमा देखिँदैन। कांग्रेसका एकथरी नेताहरूले देउवा प्रधानमन्त्री बन्दा राष्ट्रपतिमा रामचन्द्र पौडेल ‘निर्विकल्प’ हुने बताइरहेका छन्। गठबन्धनका अन्य दलहरू, खासगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै छाड्न तयार देखिँदैनन्।
देउवा प्रधानमन्त्री बन्दा गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले राष्ट्रपतिमा दाबी गर्ने निश्चितजस्तै छ। माओवादीले निर्वाचनताका नै बाबुराम भट्टराईलाई राष्ट्रपतिमा अगाडि सार्ने सूचना चुहाएको थियो। निर्वाचनपछि भने उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै अगाडि बढाउन सकिने चर्चा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलाएका थिए। तर, गठबन्धनको प्रमुख घटक कांग्रेसभित्र माओवादीलाई कुनै हालतमा राष्ट्रपति दिन नहुने मत बलियो छ। यसमा भूराजनीतिक चासो पनि जोडिन पुगेको नेताहरू बताउँछन्।
के सत्ता गठबन्धनभित्र सबैलाई स्वीकार्य हुनसक्ने राष्ट्रपतिको उपयुक्त उम्मेदवार फेला पर्न कठिन भएको हो? गठबन्धनका नेताहरूका कुरा सुन्दा त्यस्तै लाग्छ। त्यहीकारण पनि हुनसक्छ, गठबन्धनभित्र राष्ट्रप्रमुखमा सबैलाई स्वीकार्य हुने व्यक्तिको खोजी तीव्र बनेको छ। त्यहीक्रममा गठबन्धनका शीर्ष नेताको बैठकमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नामले प्रवेश पाएको छ। श्रेष्ठको नाम प्रवेशसँगै कतिपय नेताहरू तरंगित बनेका छन्। “कल्याण श्रेष्ठ अहिलेका लागि सबैलाई स्वीकार्य हुने, राष्ट्रप्रमुख बनाउन पनि सबभन्दा उपयुक्त नाम हो”, गठबन्धनका शीर्ष तहका एक नेताले बिहीबार उकालोसँग भने।
कल्याण श्रेष्ठको नाम राष्ट्रपतिका लागि गठबन्धनभित्र एकाएक कसरी प्रवेश भयो? यसबारे बुझ्न शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्नुअघिको अवस्थामा फर्कनु पर्छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई–दुई पटक गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले बदर गरिदिएको थियो। पहिलोपटक २०७७ पुस ५ मा भएको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्नेक्रममा (फागुन ११ गते) सर्वोच्चले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चालेको ठहर गरेको थियो। फेरि २०७८ जेठ ७ मध्यरातमा दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गर्दा (असार २८ गते) सर्वोच्चले ओलीलाई पदमुक्त मात्र गरेन, देउवालाई २४ घण्टाभित्र प्रधानमन्त्रीको शपथ गराउन राष्ट्रपतिका नाममा परमादेशसमेत दिएको थियो।
दुवैपटक प्रतिनिनिधिसभा विघटन गरिँदा राजनीति, समाज, जनमत सबै विभाजित बनेका बेला अदालतले त्यसको छिनोफानो गर्नुअघि विघटनलाई असंवैधानिक भनेर त्यसविरुद्ध माहोल बनाउन चार जना पूर्वप्रधानन्यायाधीशहरूले अर्थपूर्ण भूमिका खेलेका थिए। ती चार जना थिए– मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की। उनीहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सार्वजनिक वक्तव्य दिएपछि, पूर्वन्यायमूर्तिहरूले न्यायालयलाई प्रभावित पार्न खोजेको भनेर खासगरी तत्कालीन प्रधानमन्त्री ओली र उनी निकटस्थहरूले चर्को आलोचना गरेका थिए।
सत्ता गठबन्धनका शीर्ष तहका अर्का एक नेता संवेदनशील घडीमा चुप नबसी पूर्वप्रधानन्यायाधीशहरूले दिएको वक्तव्यकै कारण मुलुकमा शुरू भएको असंवैधानिक अभ्यास रोकिएको र तिनैमध्ये एकजनालाई राष्ट्रप्रमुखको जिम्मेवारीमा पुर्याउनु सबभन्दा उपयुक्त हुने बताउँछन्। ती नेताका अनुसार यसमा चारै जना पूर्वप्रधानन्यायाधीशको ‘राय’ बुझ्न अनौपचारिक रूपमा प्रस्ताव पनि पुर्याइएको थियो। तर, कार्कीले त्यसलाई सिधै अस्वीकार गरेको ती नेता बताउँछन्। “मीनबहादुर रायमाझीले उमेर र अनुपराज शर्माले स्वास्थ्यका कारण यसमा रुचि देखाउनु भएन”, उनले भने, “सबै हिसाबले कल्याण श्रेष्ठ नै राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार हो।”
गठबन्धनको अनौपचारिक प्रस्ताव लिएर पूर्वप्रधानन्यायाधीशहरूलाई भेटेका एक नेताले यो विषय ‘परिपक्व भइनसकेको’ प्रतिक्रिया दिए। “अहिलेका लागि राष्ट्रपतिमा कल्याण श्रेष्ठ जति उपयुक्त व्यक्ति अरू छैनन्”, उनले भने, “तर, अहिल्यै यसबारे कुरा गर्ने बेला भइसकेको छैन। कतिपय कुरा बढी चर्चा गरेर पनि बिग्रिन्छन्। त्यसैले थप टिप्पणी नगरौँ।”
रेग्मी, सिटौला र महन्थको चर्चा
राष्ट्रपति को बन्छ भन्ने कौतुहल बढ्न थालेका बेला बुधबार बिहानै राजनीतिक वृत्तमा एउटा सूचना एकाएक फैलियो। पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको नाम राष्ट्रपतिका रूपमा सत्ता गठबन्धनभित्र ‘इन्डोर्स’ गरियो भन्ने सूचना थियो। जसले यो सूचना प्रवाह गरेका थिए, उनीहरूको दाबीअनुसार रेग्मीको नाम भूराजनीतिका शक्तिबाट ‘इन्डोर्स’ भएको थियो।
दोस्रो संविधानसभा निर्वाचन कसको नेतृत्वमा गराउने भनेर दलहरू सहमतिमा पुग्न नसकेपछि तत्कालीन प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गरिएको थियो। त्यो मन्त्रिपरिषद्ले दोस्रो संविधानसभा निर्वाचन गराएपछि रेग्मी पुनः अदालत नफर्केर बिदा भएका थिए। कांग्रेसका एक नेताले रेग्मीलाई राष्ट्रपति बनाउने चलखेल शुरू भएकाले भूराजनीतिक चलखेल फेरि बढेर जाने बताएका थिए।
जसले रेग्मीबारे चर्चा गरेका थिएनन्, उनीहरूले नै बुधबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको नाम पनि सम्भावित राष्ट्रपतिका रूपमा अगाडि सारिएको सूचना प्रवाह गरे। महन्थको एउटा संयोग के भने, उनी लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति नै बन्न सक्थे। तर, पहिलो संविधानसभा निर्वाचनको मुखैमा उनी जीवनभर राजनीति गरेको कांग्रेस छाडेर मधेशकेन्द्रित दल गठनतर्फ लागेपछि उनीभन्दा ‘जुनियर’ डा. रामवरण यादवलाई प्रथम राष्ट्रपति बन्ने अवसर जुरेको थियो।
१४ वर्षपछि महन्थको नाम राष्ट्रपतिकै रूपमा कसरी चर्चामा आयो? स्रोत भन्छ, “नेपालमा अहिले फेरि भूराजनीतिक चलखेल बढ्न थालेको छ, त्यही चलखेलका क्रममा महन्थको नाम इन्डोर्स गराउने प्रयत्न भएको हामीले बुझेका छौँ।”
रेग्मी र ठाकुरको नाम राष्ट्रपतिका रूपमा ‘इन्डोर्स गरिएको’ चर्चापछि हामीले बुधबार दिनभर नै सत्ता गठबन्धनका शीर्ष तहका नेताहरूबाट यसलाई पुष्टि गर्ने प्रयास गर्यौँ। तर, कसैले पनि त्यस्तो भएको स्वीकार गरेनन्। उनीहरूले त्यसबारे कुनै कुरासमेत नभएको बताए। “उहाँहरूलाई त्यस्तो चाहना होला, कसैले उहाँहरूको चाहना बढाइदियो पनि होला। तर, त्यस्तो केही सम्भावना छैन। ‘फेज आउट’ भइसकेका अनुहारलाई अगाडि सार्ने कुनै गुन्जायस छैन”, गठबन्धनका शीर्षतहका एक नेताले भने, “राष्ट्रपति बनाउनलाई पछिल्लो समय देशलाई केही योगदान गरेको, केही भूमिका खेलेको हुनुपर्ला नि। यी सबै हिसाबले कल्याण श्रेष्ठ योग्य उम्मेदवार हो। बरु, उहाँबारे हामी छलफलमा छौँ।”
गठबन्धनका एक नेताले बताएअनुसार यसपालि राष्ट्रपति कसलाई बनाउने भन्ने छलफलमा ‘सेनाले स्वीकार्छ कि स्वीकार्दैन’ भन्ने विषयले प्रवेश पाएको छ। ती नेताका अनुसार यो विषय सेनालाई मात्र नहेरी भूराजनीतिलाई समेत ‘ख्याल गरेर’ प्रवेश गराइएको हो। “त्यो अनुसार स्वीकार्य हुने व्यक्तिबारे गठबन्धनभित्र कुरा नमिल्ने, गठबन्धनभित्र कुरा मिल्ने व्यक्ति त्यसरी स्वीकार्य नहुने अवस्था पनि देखिन्छ”, उनले भने, “सबैलाई स्वीकार्य हुनेगरी एउटा प्रोफाइल भएका, योगदान पनि गरेका गैरदलीय व्यक्तिको खोजी त्यहीकारण गर्नुपरेको हो।”
तर, माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल भने राजनीतिभन्दा बाहिरबाट राष्ट्रपति बन्ने कुनै सम्भावना नरहेको बताउँछन्। कांग्रेसले चाहेर मात्र केही नहुने, गठबन्धनभित्रै त्यसका लागि सहमति जुट्नुपर्ने उल्लेख गर्दै उनले भने, “हामी शीर्षनेताका बैठकमा बस्दैनौँ, त्यहाँ विभिन्नखाले कुरा आएका होलान्। राष्ट्रपति बन्न पाउने अधिकार सबैको होला पनि। तर, राजनीतिक वृत्तभन्दा बाहिरबाट कोही राष्ट्रपति बन्दैन। कांग्रेस, माओवादी वा जुनसुकै पार्टीबाट भए पनि राजनीतिक पृष्ठभूमिकै व्यक्ति हुन्छ।”
नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले पनि को राष्ट्रपति बन्ने भन्ने विषयमा छलफल नै नभएको बताए। “राजनीतिक पृष्ठभूमिभन्दा बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने भन्नेबारे कुनै छलफल भएको जस्तो लाग्दैन। अहिलेसम्म यो विषयले प्रवेश पाएको छैन”, उनले भने, “जोसुकै पार्टीले राष्ट्रपति पाए पनि राजनीतिक वृत्तबाटै राष्ट्रपति बन्ने हो।”
गठबन्धनका केही नेताले राजनीतिक वृत्तभन्दा बाहिरबाट राष्ट्रपति नबनाइने बताइरहँदा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नाम पनि राष्ट्रपतिका रूपमा चर्चामा ल्याइएको छ। सिटौला मंसिर ४ को निर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका हुन्। सिटौलाको नाम भूराजनीतिक चलखेलकै रूपमा अगाडि आएको बताइए पनि निर्वाचन लडेर पराजित भइसकेकालाई राष्ट्रपतिका रूपमा अघि सार्न गठबन्धनलाई सहज छैन। गठबन्धनभित्र शक्ति बाँडफाँटमा परेको सकस सिटौलाका निम्ति अर्को प्रतिकुलता हुनेछ।
माधव नेपालको सम्भावना कति?
एकथरीले राष्ट्रपतिका रूपमा अहिले जे–जति नाम चर्चामा आए पनि शक्ति बाँडफाँट ‘प्याकेज’मा टुंगो नलागेसम्म राष्ट्रपति को बन्ला भन्ने आकलन गर्न नसकिने बताइरहेका छन्। उनीहरूको भनाइमा कांग्रेस सभापति देउवा नै प्रधानमन्त्री बन्ने अवस्थामा एउटा परिदृष्य हुनेछ, देउवा प्रधानमन्त्री नबन्ने अवस्थामा परिदृष्य अर्कै बन्ने छ। यो बेग्लै हो कि, अहिलेकै अवस्थामा देउवाबाहेकका नेता प्रधानमन्त्री बन्न परिस्थितिमा नाटकीय परिवर्तन हुनुपर्छ।
यही सम्भावनालाई अगाडि सारेर कतिपयले राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम लिइरहेका छन्। नेपालको सबभन्दा ठूलो अनुकुलता के हो भने, उनलाई राजनीतिक रूपमा ‘सेटल’ गर्न देउवा स्वयं अग्रसर हुनेछन्। एमाले फुटाएर भए पनि देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेपाललाई ‘गुन तिर्न बाँकी नै रहेको’ देउवाले निकटस्थहरूसँग बताउने गरेका छन्। उनलाई राष्ट्रपति बनाउन एमाले र माओवादी केन्द्र पनि सकारात्मक बन्ने देखिन्छ। किनभने नेपाल राष्ट्रपति बनेर सक्रिय राजनीतिबाट टाढिएमा एमालेबाट टुक्रिएको पंक्तिलाई फेरि पार्टीमै फर्काउने अनुकुलता उसलाई मिल्नेछ। एकीकृत समाजवादीसँग पार्टी एकताकै छलफलमा रहेको माओवादी केन्द्र पनि त्यसले एकता सहज बनाउने बुझाइमा देखिन्छ।
तर, त्यसपछि एकीकृत समाजवादी एकताबद्ध नरहन सक्ने र त्यसले गठबन्धनको गणित प्रभावित हुनसक्ने सम्भावना पनि छ। यद्यपि, नेपालले अहिले आफू कार्यकारी भूमिकाबाट अलग नहुने बताउँदै आएका छन्। देउवानिकट एक कांग्रेस नेता भन्छन्, “एक त माधवजीकै पनि राष्ट्रपति बन्ने इच्छा देखिएको छैन। अर्को चाहिँ त्यो पार्टीलाई इन्ट्याक्ट राख्नुपर्ने भएकाले बरू प्रतिनिधिसभाको यो कार्यकालको अन्त्यतिर माधवजीलाई एक वर्षका लागि भए पनि प्रधानमन्त्री बनाउनुपर्छ, अहिले राष्ट्रपतिमा पठाउनुहुन्न भन्ने पनि छ।”
नेपालले बुधबार उकालोलाई दिएको अन्तर्वार्तामा पनि राष्ट्रपति बन्न सक्ने सम्भावनालाई पूरै इन्कार गरेनन्। “म चुनाव जितेर आएकाले यो अवधि कार्यकारी भूमिकाको लागि हो”, नेपालले भने, “यो (राष्ट्रपतिको) प्रश्न मैले अरूलाई सोध्ने गरेको छु। जनताले भन्छन् भने ठीकै छ। होइन, पार्टी खोल्नुभएको छ, यत्रो लामो अनुभव हासिल गर्नुभएको छ, भर्खरै निर्वाचित हुनुभएको छ, नयाँ पार्टीलाई एउटा बिन्दूमा पुर्याएर नेतृत्वको जिम्मा अरुलाई सुम्पिएर मात्र तपाईं सक्रिय राजनीतिबाट बिदा हुनुस्, अहिले बिदा हुने समय भएको छैन भनेको खण्डमा त मैले सक्रिय राजनीतिबाट बिदा लिनु राम्रो हुँदैन। जनताले भन्छन्, हाम्रो पार्टी पनि तयार हुन्छ भने नयाँ पुस्तालाई हस्तान्तरण गर्न म तयार छु। मेरो उद्देश्य भनेको देश निर्माण गर्नु हो। देशका लागि योगदान गर्नु हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
बीपी अनमोल
