सेमिफाइनलमा पराजयले मोरक्कोका समर्थक निराश, बेल्जियम र फ्रान्समा झडप

सेमिफाइनलमा मोरक्कोको हारपछि फ्रान्सको राजधानी पेरिस र बेल्जियमको राजधानी ब्रसेल्समा समर्थकहरूबीच झडप भएको छ।

काठमाडौँ– एकपछि अर्को गर्दै स्पेन, बेल्जियम र पोर्चुगलजस्ता ठूला टोलीलाई पराजित गरी कतार विश्वकप-२०२२ को उपाधि दाबेदारी प्रस्तुत गरेको मोरक्को बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा साबिक विजेता फ्रान्ससँग २–० गोल अन्तरले पराजित भयो।

तर, जारी विश्वकपमा पहिलो हार बेहोरेपछि मोरक्कोका समर्थकहरूले नतिजालाई स्विकार्न सकेका छैनन्। सेमिफाइनलमा मोरक्कोको हारपछि फ्रान्सको राजधानी पेरिस र बेल्जियमको राजधानी ब्रसेल्समा समर्थकहरूबीच झडप भएको छ। फ्रान्सको दक्षिण भेगमा अवस्थित मोन्टपेलियर शहरमा समर्थकहरूबीच झडप हुँदा एक बालकको मृत्यु भएको छ।

स्थानीय सरकारी कार्यालयले जारी गरेको विज्ञप्तिमा ती बालकलाई एउटा कारले ठक्कर दिएको थियो। ''उनलाई अस्पतालमा लगिएको थियो। तर, केही समयमै उनको मृत्यु भयो", हेराल्ट विभागले भनेको छ।

घटनास्थलनजिकै कार भेटिएको छ भने घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ। खेलपछि पेरिसमा फ्रान्स र मोरक्कोका समर्थकबीच झडप भएको थियो। ब्रसेल्समा पनि मोरक्कोका समर्थक र प्रहरीबीच झडप भएको थियो।

करिब १०० जनाको समूहमा रहेका मोरक्कन समर्थकहरूले ब्रसेल्सको साउथ स्टेसननजिकै प्रहरीमाथि पटाका र अन्य वस्तुहरू प्रहार गरेका थिए। समर्थकहरूले सडकमा रहेका फोहोरको झोला र कार्डबोर्ड बक्समा आगो पनि लगाएका थिए। उनीहरूलाई रोक्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीले केही समर्थकलाई नियन्त्रणमा लिएको छ। तर, यी झडपमा कोही पनि गम्भीर घाइते भएका छैनन्।

यसअघि बेल्जियममा पनि मोरक्को र बेल्जियमका समर्थकबीच झडप भएको थियो। विश्वकपको समूह चरणको खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गरेको थियो। त्यसपछि ब्रसेल्समा दुवै टोलीका समर्थकहरूबीच झडप भएको थियो।

फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने दोस्रो टोली बनेको छ। यसअघि सन् १९९८ र २००२ मा ब्राजिल फाइनलमा पुगेको थियो र लगातार दुई विश्वकपको फाइनल खेल्ने पहिलो टोली बनेको थियो। फ्रान्सलाई लगातार दुई पटक विश्वकपको फाइनलमा पुर्‍याउन हर्नान्डेजले खेलको पाँचौँ मिनेटमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि ७९औँ मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याए।

खेलपछि मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गरेको र सेमिफाइनलको यस हारले विश्वकपमा आफ्नो टोलीको प्रभावशाली प्रदर्शनलाई छायामा नपार्ने बताए। "मोरक्कोमा फुटबल व्यवस्थित छ र उत्कृष्ट समर्थकहरू छन् भनेर हामीले प्रमाणित गरेका छौँ। हामीले यस विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्‍यौँ। यो हारले पहिले हासिल गरेका सबै उपलब्धि हामीबाट खोस्न सक्दैन", उनले भनेका थिए।