करिब ४७ जिल्लामा क्रिकेट संघ गठन भएको छ। तर, कति जिल्लामा क्रिकेट भइरहेको छ भनेर क्यानले भन्न सक्ने स्थिति छ त? अलिअलि क्रिकेट हुने भनेको लुम्बिनीमा हो। अन्य प्रदेश र जिल्लामा क्रिकेट खेलाएको खै?
नेपालले पहिलोपटक सन् १९९६ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो। पहिलोपटक अन्तराष्ट्रिय क्रिकेट खेल्ने नेपाली टोलीको उपकप्तान थिए, एलबी क्षेत्री। उनले भारतको कोलकातामा क्रिकेट सिकेर त्यहीँ ए डिभिजन क्रिकेट पनि खेलेका थिए। त्यसपछि नेपाल फर्किएका उनी जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय टोलीमा पुगेका थिए।
त्यसको दुई वर्षपछि सन् १९९८ मा घरेलु भूमिमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा क्षेत्री राष्ट्रिय टोलीको कप्तान भए। सक्रिय खेल जीवनपछि लामो समय क्रिकेटको आधिकारिक जिम्मेवारीबाट बाहिर रहेका उनी अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य छन्। क्षेत्रीसँग नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको प्रदर्शन र नेपाली राष्ट्रिय टोलीमा देखिएको समस्याबारे उकालोका लागि दीप सुवेदीले गरेको कुराकानी।
नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सकेसम्म प्रयास गरेको बताइरहेको छ। तर, हाम्रो ओडीआई मान्यता गुम्ने स्थितिमा पुगिसकेको छ। नेपाली टोली अब कमजोर भइसकेको हो?
हामीले नतिजा नै हेरेर कस्तो खेल प्रदर्शन गरिरहेको छ भन्ने हो। अहिलेको नतिजालाई हेर्दा नेपाली टोलीको प्रदर्शन पक्कै सुखद छैन। सात टोली सहभागी प्रतियोगिताको अंक तालिकामा २४ खेल खेलिसकेको हामी १८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छौँ। स्कटल्यान्ड, युएई र ओमानलगायतका टोलीले ३६ या सोभन्दा माथि अंक जोडिसकेको अवस्था छ। यो सबै हेर्दा हामीलाई शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन गाह्रो देखिन्छ।
ओडीआई देश भएपछि नेपाली क्रिकेटमा धेरै उथलपुथल भयो। कप्तान पनि परिवर्तन भइरहे। क्यान आन्तरिक मामिला व्यवस्थापनमा चुकेको त होइन?
हामी आन्तरिक मामिलामा निकै कमजोर रह्यौँ। ओडीआई मान्यता पाएसँगै नेपाली क्रिकेट टोलीमा कप्तान परिवर्तन भइरहे। पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने र रोहित पौडेल कप्तान बनेर आउनुभयो। यसबीच, क्यानले कप्तान र खेलाडीमाथि कारबाही गर्दै अर्को कप्तान नियुक्त गर्ने सिलसिला पनि चलिरह्यो। फितलो व्यवस्थापनका कारण खेलाडी-खेलाडीमा आपसी समन्वय पनि भएन। व्यवस्थापनले राम्रोसँग काम गर्न सकेन। क्यानको यही फितलोपनको प्रभावले नै खराब नतिजा आइरहेको जस्तो लाग्छ।
यसबीचमा खेलाडीले पनि अनुशासन कायम गर्न सकेनन्। के खेलाडी चाहिँ दोषी छैनन्?
खेलाडी पनि केही कुरामा दोषी छन्। तर, सबै दोष खेलाडीलाई लगाएर उम्किने स्थिति छैन। सबैभन्दा दोषी चाहिँ व्यवस्थापकीय पदमा बसेका व्यक्तिहरू नै हुन्छ। मजबुत, बलियो, प्रतिफलमुखी, नतिजामुखी र अनुशासन कायम गर्न सक्ने व्यक्ति व्यवस्थापकीय ठाउँमा रह्यो भने त्यसको प्रतिफल सबैले प्राप्त गर्छन्। तर, माथिल्लै तहको व्यवस्थापन फितलो हुँदाको प्रभाव त्यससँग जोडिएका सबैमा पर्छ नै। अहिले नेपाली क्रिकेटमा पनि त्यही भएको छ।
बारम्बार प्रशिक्षक परिवर्तन गरिँदा चाहिँ त्यसको असर टिमको प्रदर्शनमा पर्यो कि परेन?
ओडीआई मान्यता पाएपछि आउनुभएको पहिलो प्रशिक्षक भारतीय नागरिक उमेश पटुवाल हुनुहुन्थ्यो। उहाँ नराम्रो चाहिँ हुनुहुन्न थियो। तर, हाम्रो देशको परिस्थितिअनुसार तत्कालै देखिने नतिजा दिन नसक्नु भएकै हो। उहाँलाई पनि त्यही लागेर हुनसक्छ, आएको करिब आठ महिनामै राजीनामा दिएर जानुभयो। त्यसपछि सबैभन्दा प्रोफेसनल प्रशिक्षक डेभ वाट्मोर पाएका थियौँ। उहाँ क्रिकेटसँग बलियो रूपमा जोडिएको पनि हुनुहुन्थ्यो। आफूलाई प्रमाणित पनि गरिसक्नु भएको थियो। उहाँले नेपाल आएदेखि नै क्रिकेटको सूक्ष्म अनुसन्धान गरेर ओपनिङदेखि ब्याटिङ अर्डर सबै मिलाइसक्नु भएको थियो। तर, लामो समय टिक्न सक्नु भएन।
मैले आलोचना गर्न चाहेको होइन, यो यथार्थ नै हो। अहिलेका भारतीय प्रशिक्षक मनोज प्रभाकर अन्तर्राष्ट्रिय एरिनामा तीन-चार वर्ष नै ग्यापमा हुनुन्थ्यो। उहाँसँग रणजी ट्रफीका टिमहरू दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसिएसनको प्रशिक्षण सम्हालेको अनुभव थियो। तर, प्रशिक्षक नियुक्त गर्दा हामीले हाई लेभलको फिगरलाई हेर्ने होइन, उसको नतिजा हेर्ने हो। कहाँ-कहाँ कस्तो नतिजा दियो, कहाँ के-के गर्यो, कुन बेलामा गर्यो, कस्तो वातावरणमा गर्यो , कुन टोलीका लागि गर्यो भन्ने कुरालाई पारामिटरमा राखेर प्रशिक्षक नियुक्त गर्नुपर्ने हो। तर, क्रिकेटमा मात्रै होइन नेपाली खेलकुदमै पछिल्लो समय प्रशिक्षक नियुक्तिमा ठूलो चलखेल हुने गरेको छ। जानेको, चिनेको र खालि रहेको अवस्थामा फ्यालिएकालाई मुख्य प्रशिक्षक बनाएर ल्याइरहेका छौँ।
प्रशिक्षक पनि राम्रै पायौँ भन्नुहुन्छ, तर टोलीको लय बिग्रिएको छ। यो लय कसले बिगार्यो?
क्रिकेट भनेको ब्याडमिन्टन, टेबुल टेनिस, स्विमिङ र एथ्लेटिक्स इन्डिभिजुयल गेम होइन। यस खेलमा एक्लो व्यक्तिले मिहिनेत गरे पुग्छ। तर, क्रिकेट फरक हो। यो टिम गेम हो, टिमसँग लयमा खेल्नुपर्छ। त्यसैले प्रशिक्षकसँगै कप्तान र माथिल्लो तहको व्यवस्थापनको भूमिका अहम् हुन्छ। टोलीमा खेलाडीको मनोबल खस्किरहेको हुन्छ, आन्तरिक किचलो हुन्छ। नयाँ प्रशिक्षकलाई त यो बुझ्दा-बुझ्दै धेरै समय लाग्छ नि। उसले सबै समस्या कहिले बुझ्ने र कहिले समाधान गर्ने? यी सबै चिजमा व्यवस्थापकीय कमजोरी हुँदा हाम्रो लय बिग्रियो।
ओडीआई मान्यता पाएयता क्रिकेटमा चार जना विदेशी प्रशिक्षक पायौँ। उहाँहरूले धेरै प्रयोग गरेर मैदानलाई प्रयोगशाला नै बनाउँदा प्रदर्शन खस्किएको होइन?
मैदानलाई किन प्रयोगशाला बनाउनुपर्यो भन्दा हाम्रो क्रिकेटको घरेलु संरचना टी२० मात्रै भएर हो। नयाँ खेलाडी ल्याइरहन टी२० फर्म्याट एकदमै राम्रो हो। तर, हाम्रो लक्ष्य नयाँ खेलाडी ल्याउनुभन्दा भएकाको क्षमतालाई निखार्दै नेपाललाई टेस्ट नेशन्स बनाउने हो, ओडीआई मान्यता कायमै राख्ने हो। यसका लागि एक दिवसीयलाई दुई र तीन दिवसीयजस्ता लङ फर्म्याटको क्रिकेटमा ढाल्नुपर्छ। हाम्रो लक्ष्य ओडीआई मान्यता कायम राख्ने र टेस्ट नेशन्स बन्ने छ। तर, हामी टी२० फर्म्याटलाई नै जोड दिइरहेका छौँ।
कम्तीमा दुई र तीन दिवसीय क्रिकेटको त परिकल्पना गरौँ। अहिले हामीसँग भएको भनेको पनि एक दिवसीय प्रतियोगितामा त्यही प्रधानमन्त्री कप नै हो। त्यही पनि कहिले ५० ओभरको हुन्छ, कहिले २० ओभरको। यही प्रतियोगितामा देखाएको प्रदर्शनले मात्रै राष्ट्रिय टोलीमा परिरहेको हुन्छ। तर, उसले राष्ट्रिय टोलीमा परेपछि त्यो लयलाई कायम राख्न सक्दैन।
अर्को कुरा, टी२० बाट आउने खेलाडी धैर्यवान हुँदैनन्, उसलाई जतिसक्दो रन बनाउने प्रेसर हुन्छ। त्यसैले टी२० का खेलाडी हार्ड हिटर हुन्छन्। तर, एक दिवसीय क्रिकेटमा इनिङ्स होल्ड गरेर खेल्नुपर्छ, धैर्यता देखाउनुपर्छ। हाम्रो टोलीमा आएका अधिकांश खेलाडी टी२० पृष्ठभूमिका छन्। उनीहरूसँग लामो समय एक दिवसीय क्रिकेट खेलेको अनुभव छैन। त्यसैले अहिले ब्याटिङ वरीयता निश्चित छैन। एक खेलाडीले राम्रो प्रदर्शन गरेन भने अर्को खेलाडीलाई उसको स्थानमा ल्याउनुपर्ने प्रशिक्षकलाई बाध्यता छ। अहिलेको स्थितिमा पनि त्यही भइरहेको हो। त्यसैले मैदान प्रयोगशाला बनिरहेको जस्तो देखिन्छ।
नेपालमा दुई र तीन दिवसीय क्रिकेट शुरू गर्ने हो भने उनीहरूलाई त्यसमा भिज्न सजिलो हुन्छ। कसरी इनिङ्स होल्ड गर्ने र धैर्य साथ खेल्ने भन्ने कुरा सिक्न सक्छन्। यसरी खेलाडी आए प्रशिक्षकले पनि नयाँ-नयाँ प्रयोग गरिरहन पर्दैन।
हामीसँग भएको स्तरीय मैदान भनेको कीर्तिपुर मात्र हो। यही मैदानको मात्र भर गरेर लामो स्वरूपको क्रिकेट खेलाउन सक्ने स्थिति छ त?
करिब ४७ जिल्लामा क्रिकेट संघ गठन भएको छ। तर, कति जिल्लामा क्रिकेट भइरहेको छ भनेर क्यानले भन्न सक्ने स्थिति छ त? अलिअलि क्रिकेट हुने भनेको लुम्बिनीमा हो। अन्य प्रदेश र जिल्लामा क्रिकेट खेलाएको खै? स्तरीय मैदान भएको भनिएको काठमाडौँमै पनि त क्रिकेट प्रतियोगिता हुन छाडिसक्यो नि।
क्यानले त क्रिकेट खेलाउनुपर्यो नि। टाउकाहरू छन्, भोटका लागि माथि पद ओगटेर बसिरहेका छन्। जिल्ला संघले त क्यानलाई 'संरचना बनाइदे' भनेर प्रेसर दिनुपर्यो नि। भोट मात्रै हाल्न जाने होइन, उनीहरूले किन नेपाली क्रिक्रेटको स्तर खस्कियो? किन हाम्रो घरेलु संरचना कमजोर भयो? भनेर पदमा बसेकालाई प्रश्न त गर्नुपर्ने नि। प्रदेश र जिल्ला संघ चुइँक्क नबोल्ने, अनि क्यानले पनि स्तरीय मैदान छैन, के छैन भनेर बहाना बनाइरहने हो भने त क्रिकेट कसरी अगाडि बढ्छ?
अब हामीले ओडीआई मान्यता जोगाउनै नसक्ने स्थितिमा पुगिसक्यौँ। बाँकी रहेका खेलहरूमा शतप्रतिशत नतिजा निकाल्दासमेत अन्य टोलीमा भर पर्नुपर्ने अवस्था छ। हामीले अहिले गर्न सक्ने काम भनेको के हो?
तीन-चार वर्षअगाडि नेपाली राष्ट्रिय टोलीका खेलाडीमा कुनै दबाब थिएन। उनीहरू ढुक्कले मैदानमा खेल प्रदर्शन गरिरहेका थिए। अहिले क्यानमा आन्तरिक किचलो छ। त्यसको असर मैदानदेखि खेलाडीसम्ममा परिरहेको छ। त्यो असरलाई हटाउन खेलाडीलाई एक मनोवैज्ञानिक चिकित्सकको खाँचो छ। ती चिकित्सकले खेलाडीको तनाव, मनमा भएका भ्रम, आशंका र दबाबलाई हटाउने काम गर्न सक्छन्। जुन खेलाडीमा यस्ता अनावश्यक भ्रम र दबाब बढी हुन्छ उसले कसरी राम्रो खेल खेलोस् त? त्यसैले क्यानका पदाधिकारीहरूले पद मात्रै ओगटेर बस्ने होइन, खेलाडीलाई खेल्ने वातावरण सिर्जना गर्ने हो। एक दिवसीय मान्यता कसरी बचाउने र भएका कमीकमजोरीलाई कसरी सुधार गरेर अगाडि बढ्ने भनेर बृहत् छलफल चलाउनुपर्छ।
अर्को भनेको क्रिकेट खेल्न लन्डन नै जानुपर्दैन। हामीले छिमेकी राष्ट्र भारतमा पनि गएर खेल्न सक्छौँ। क्रिकेटको लागि सुहाउँदो हावापानी, पूर्वाधार र पिच भारतमै छन्। उनीहरूसँग रणजी ट्रफी खेल्ने टोलीहरू पनि छन्। रणजी ट्रफीका विजेता र उपविजेता, दक्षिण र उत्तरका उत्कृष्ट घरेलु टोलीसँग हामीले क्रिकेट प्रतियोगिता खेलाउन सक्छौँ। यति चाहिँ क्यानले तत्काल गर्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
