बसाइँसराइले रित्तिँदै गएका बागलुङका गाउँमा वन्यजन्तु आतंक

दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल उराठलाग्दा छन्। घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन्।

ढोरपाटन– बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी शहरबजार झर्नेको संख्या ठूलो छ। सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन्। वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन्। वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ। युवा विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक मात्रै बाँकी छन्। 

दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल रित्तिएर उराठलाग्दा छन्। झाडी पलाएर बाटो ढाकिएका छन्। घरसम्म झाडी पलाएपछि अहिले गाउँमा वन्यजन्तुको आतंक बढ्दै गएको छ। घरमै बाँदर, ब्वाँसो र स्याल आएर दुःख दिन थालेपछि स्थानीय त्रसित छन्। जिल्लाको गलकोट, जैमिनी, काठेखोला र बरेङका अधिकांश गाउँमा बाँदर आतंक बढी छ।  

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुन्ड्याएर राखेका सामान नष्ट गरिदिने गरेको जैमिनी नगरपालिका–५ का कुलबहादुर थापाले बताए। गाउँमा जनसंख्या कम हुँदै जाँदा बाँदर आतंक भने बढ्दै गएको उहाँको भनाइ छ। पहिले जंगलमा मात्रै भेटिने बाँदर, स्याल र अन्य हिंस्रक जन्तु हिजोआज घरमै आएर सास्ती दिने गरेको थापाले दुःखेसो पोखे। “बारीमा लगाएको तरकारीदेखि खाद्यबाली बाँदरले सखाप पारिदिन्छ। गोठमा पालेको गाई, बाख्रा र पाठापाठी ब्वाँसोले खाइदिन्छ,” उनले भने, “कुन बेला मान्छेलाई नै आक्रमण गर्छ भन्ने चिन्ता बढेको छ। बसाइँसराइ गरेर जाने गइहाल्छन्, गाउँमा बस्नेलाई त सरकारले जोगाइदिनुपर्‍यो।”

काठेखोला गाउँपालिका–५ का नन्दराम कँडेलले वन्यजन्तुले बालीनाली खाई दिने र पशुचौपाया मारी दिँदा बर्सेनि लाखौँको नोक्सानी बेहोर्नुपरेको बताए। हरेक वर्ष गाउँबाट बागलुङ बजार, पोखरा, काठमाडौँ र चितवन बसाइँसराइ हुने र वन्यजन्तु भने गाउँ पस्ने समस्यालाई रोक्न सरकारले ध्यान दिनुपर्ने र बसाइँसराइ गरेर जानेले घरबारीलाई बाँझो राख्न नपाइने नीति ल्याउनुपर्ने उनको भनाइ छ। 

गाउँमा विकास हुँदै गए पनि धेरैले शहर रोज्दा वन्यजन्तुको आतंक बढ्न थालेको कँडेलले बताए। “हामीहरू धेरै पीडित बन्यौँ। न गाउँ छोडेर बजार जान सक्छौँ। न गाउँमा ढुक्कले बस्न सकेका छौँ,” उनले भने, “यसतर्फ राज्यले ध्यान दिनुपर्‍यो। गाउँमा सबै ठिक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुशी छौँ।”