झापा गाउँपालिका–२ र गौरीगन्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको निर्माण १३ वर्षदेखि अलपत्र परेको छ। चार वर्षमा सक्ने सम्झौता भएको पुल नबन्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ।
भद्रपुर– हुलाकी राजमार्गको पूर्वीखण्डमा झापा गाउँपालिका–२ र गौरीगन्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ।
२०६८ सालमा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ। यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो। यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेको छ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो। २०७२ जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी प्रभात किरण राईले जानकारी दिए। उनका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० असारमा सकिएको थियो।
पुल निर्माणका काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इन्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम शुरूआत नगरेको इन्जिनियर राईले बताए।
पटक–पटक मुख्यमन्त्री, निर्माण व्यवसायीलगायत सम्बन्धित क्षेत्रमा पहल गर्दा कुनै सुनुवाइ नभएको सोही क्षेत्रबाट निर्वाचित कोशी प्रदेशसभा सदस्य लखीकुमारी गणेशले बताइन्। “लागत अनुमान अनुसार पुल निर्माणको काम नभएकाले अहिले आएर काम रोकिएको भन्ने बुझिएको छ,” उनले भनिन्, “अहिलेको ठेक्का प्रक्रिया रोकी पुनः ठेक्का प्रक्रिया अगाडि बढाउँदै अझै धेरै समय लाग्ने हुँदा पुरानोबाट नै लागत अनुमानअनुसार काम गराई पुल निर्माण सम्पन्न गर्नुपर्छ।”
चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम अझै पूरा हुन नसकेकोमा गौरीगन्ज– १ का स्थानीय टंकप्रसाद श्रेष्ठले दुःख व्यक्त गरे। “अहिले पुल निर्माण क्षेत्रबाट निर्माण कम्पनीले आफ्ना सामान लगिसकेको अवस्था छ, अब कन्काई पुल निर्माण सम्पन्न होला र पुलमा यात्रा गरौँला भन्ने आश नै मर्यो,” उनले भने।
पुल के कारण रोकिएको हो जानकारी नै नभएको झापा गाउँपालिका–२ का वडाध्यक्ष हिमालकुमार चाम्लागाईले बताए। यहाँबाट आवतजावत गर्ने मानिस जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। गाउँपालिकाले बर्खायाममा डुंगा सञ्चालनका लागि २ लाख ३० हजार रुपैयाँमा ठेक्का दिएको वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले बताए। उनका अनुसार उक्त ठेक्का लिने व्यक्तिले नै आफ्नै पहलमा हिउँद याममा बाँसको पुल निर्माण गरी मोटरसाइकल तथा पैदलयात्री तार्ने काम भइरहेको छ।
उक्त ठेक्का लिएका ईश्वर माझीका अनुसार कन्काई नदी तार्न बनाइएको उक्त पुल तार्न मोटरसाइकललाई एकतर्फी ५० र पैदल यात्रीलाई २० रुपैयाँ तोकिएको छ। यात्रालाई सहज बनाउन पुल निर्माण गरी सेवा दिइरहेको माझीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
