दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको हेटौँडा सिमेन्ट उद्योग आर्थिक समस्याका कारण थलिएको छ।
बागमती– हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक संकटका उत्पादन ठप्प भएको छ। उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि उत्पादन बन्द गरेको थियो।
मंसिर पहिलो साताबाटै उत्पादन शुरू गर्ने योजना रहे पनि मर्मतको काम नसकिएकाले गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ। “उत्पादन शुरू हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोकिएको होइन,” उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, “आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन गर्ने भन्ने अन्यौलता बढेको हो।”
उत्पादन ठप्प भए पनि उद्योगको नियमित खर्च उस्तै रहेको उनको भनाइ छ। “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ। केही इन्धन खर्च र सामान्य मर्मत खर्च भइरहेकै छ,” उनले भने, “यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइै नै हाल्यो।”
उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन्। उद्योगमा १६६ जना स्थायी, दैनिक ज्यालादारीका १०० र ५२ जना सुरक्षाकर्मी गरी ३१८ जना जनशक्ति कार्यरत छन्।
उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ। “उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक १२० ट्रन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ,” उनले भने, “तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन।” आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न नसकिएको उनले बताए।
आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल नबुझाएपछि बक्यौता थुप्रिएको छ। “ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी भने भन्न सकिए पनि करिब ३०/४० करोड जति बक्यौता बाँकी छ होला,” उनले भने, “त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था छैन।”
२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन शुरू गरेको थियो। अहिले उपकरणहरू पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ। “उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रूपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ,” उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने, ‘‘त्यही भएर अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौँ।”
एकपछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो। दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
