घरको काम महिला मात्रै नभएर, साना बालबच्चाबाहेक परिवारका सबैको जिम्मेवारी हो। हाम्रो पाठ्यक्रममा भने अझै पनि ‘आमाले भात पकाउनुहुन्छ’ भन्ने भाष्य र त्यसलाई प्रस्ट्याउने चित्र भेटिन्छन्।
‘मेरी आमा त केही गर्नुहुन्न, सामान्य गृहिणी हो।’
‘बाउ हुनलाई गाह्रो छ नि! परिवारका लागि भए पनि कमाउनुपर्छ।’
‘जाबो स्वास्नीसम्म पाल्न नसक्ने, कति नामर्द।’
‘छोरी मान्छे भएपछि घरको सबै काम जान्नुपर्छ, अर्काको घर गरी खान सोच्याजस्तो
सजिलो छ नि खुबै!’
‘कस्तो जोइटिंग्रे रहेछ, श्रीमतीले जसोतसो भन्यो, उसैउसै मान्ने।’
यस्ता अनेकन् भाष्य, हाम्रो समाजमा अझै प्रचलित छन्। नियतवश होस् या अञ्जान र हाँसीमजाकमा, हामी यस्ता वाक्यांश अक्सर प्रयोग गरिरहन्छौँ। कसैले दिएको अभिव्यक्ति, कसैको स्वभाव/व्यवहार, कसैले सामान्य कुराकानीको क्रममा, सामाजिक सञ्जाल या सार्वजनिक ठाउँमा दिएका विचार/अभिव्यक्तिले लैंगिकतासम्बन्धी हाम्रो समाजको चेतनाको अवस्था बुझाउँछ। किनकि हामी अर्थै नबुझी लैंगिकतालाई आफ्नै तरिकाले परिभाषित र गलत व्याख्या गरिरहेका हुन्छौँ।
नगरौँ पनि कसरी?
हाम्रा सिकाइ, हुर्काइ, सामाजिक अभ्यास, संस्कार, परम्परा सदियौँदेखि यस्तै भाष्य र बुझाइलाई प्रोत्साहन गर्दै यहाँसम्म आइपुगेको हो। हामी व्यक्तिको स्वभाव, व्यवहार र कर्मलाई एउटा निश्चित लिंगको जिम्मेवारीसँग जोडिदिन्छौँ। र यदि भिन्न लिंगको व्यक्तिले ती स्वभाव, व्यवहार र कर्मलाई आत्मसात् गरे भने तुच्छ भाषा र नमिठो व्यंग्यले प्रहार गर्न कत्ति संकोच मान्दैनौँ। तर, हामीले कहिल्यै लैंगिकताको परिभाषालाई संकीर्ण मानसिकताभन्दा भिन्न तरिकाले बुझ्ने, बुझाउने अभ्यास गरेका छौँ?
बिरलै गरेका छौँ।
किनकि, व्यक्तिगत, पारिवारिक, सामाजिक जीवनमा हामीले लिंग, लैंगिकता, यौनिकतासँग सम्बन्धित विषयमा दिने प्रतिक्रियामा झल्किने अभिव्यक्ति र मनोविज्ञानले, यी विषयप्रतिको हाम्रो साँघुरो मानसिकता छर्लङ्गै बनाउँछ। अशिक्षित वर्गबाट मात्रै होइन, दीक्षित र दिग्गज मानिएका व्यक्तिबाटै बेलाबेला व्यक्त हुने बोली, व्यवहारले हामीमा लैंगिक चेतस्तर कहाँ छ भन्ने बुझाउँछ।
महिलालाई वस्तु, पुरुषलाई बहादुर र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई बबुरो मान्न प्रायः मान्छे हिचकिचाउँदैन। महिलाको स्वतन्त्रतालाई नै सर्वेसवा मान्ने र पुरुषको कोमलतालाई कायरता ठानेर विभेद गर्नेहरू प्रशस्त भेटिन्छन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेय भावले हेर्दै अनेकन् नमिठा उपनामले अपमान गर्दा हामी आनन्दित मानिदिन्छौँ। तर, त्यो जमातले के बिर्सिदिन्छ भने यी सोचाइ सबै लिंगका व्यक्तिको हकमा बराबर लागू हुन्छ। किनकि, हामीले महिलाको मात्रै, पुरुषको मात्रै या यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मात्रै भनेर युगौँदेखि व्याख्या गरेका कुरा ‘अधिकांश’ अवस्थामा सबै प्रकारका लैंगिक समुदायमा बराबर लागू हुन्छ।
यसलाई सहज गरी बुझौँ। जसरी एउटा महिला निर्धक्क रुन सक्छिन्, उसैगरी एउटा पुरुष या यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मान्छे निर्धक्क रुन सक्छन्। जसरी महिला रुनु स्वाभाविक हो, पुरुष या यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मान्छे रुनु पनि स्वाभाविक हो। रुने, हाँस्ने, बोल्ने, हिँड्नेजस्ता यावत् कुरा हरेक व्यक्तिको स्वभाव र स्वतन्त्रताभित्र पर्छन्। यसैका लागि निश्चित मान्यता र बुझाइको जालमा गुजुल्टिएर गुम्सिन, निसास्सिन र डराउन कुनै पनि लिंगका व्यक्तिलाई पर्दैन।
जसरी महिलाले खाना पकाउन जान्नुपर्छ, अरू लैंगिक परिचय बोकेका व्यक्तिले पनि खाना पकाउन जान्नुपर्छ। खाना पकाउनु, घरको काम गर्नु, व्यापार व्यवसाय गर्नु, आर्थिक जोहो गर्नु, पढ्नु, गाडी चलाउनु, नाच्नु, यी सबै कर्महरू हो जो हरेक लैंगिक परिचय भएका व्यक्तिले गर्न सक्छ। स्वतन्त्र भएर आफ्नो जीवनयापनका लागि हरेकले आफ्नो इच्छा र अवस्था अनुरूप यी कर्महरू जान्नु उत्तिकै आवश्यक हुन्छ। यो कुनै एक लैंगिक परिचय बोकेका व्यक्तिको मात्रै बिर्ता होइन। आआफ्नो रुचि र जिम्मेवारीका आधारमा व्यक्तिले यस्ता कर्महरू गर्ने गर्छन्, जुन एउटा सामान्य प्रक्रिया हो।
तर यही सामान्य प्रक्रियालाई हामीले सदियौँदेखि असामान्य बनाइदियौँ। कहिले धर्मको डर देखाइदियौँ, कहिले शारीरिक क्षमतालाई अपव्याख्या गरिदियौँ। आफ्नो लिंगको अस्तित्व र पहिचानलाई उठाउने धुनमा अर्को लैंगिक अस्तित्व र पहिचानलाई बेसुर बनाइदियौँ। निश्चित लैंगिक स्वार्थको त्यही लडाइँले समानताको लयलाई लथालिंग बनाइदियो। र त लड्खडिएको त्यो लयले आजसम्मको पुस्तालाई लिंग, लैंगिकता र लैंगिक समता/समानताबारे साँघुरो र दरिद्र हुन मात्र सिकाएन, यी पुस्ताबाट जन्मिने आगामी पुस्तासम्मलाई पनि सिकाउने सम्भावनालाई बढवा दिइरहेछ।
ससाना बालबालिकालाई ‘पेसा, व्यवसाय तथा काम’बारे बुझाउन राखिएका पाठ्यक्रम मात्रै हेर्ने हो भने पनि हामीले हुर्किँदो पुस्तालाई लैंगिकताबारे कसरी सिकाइरहेका छौँ भन्ने प्रस्ट हुन्छ। अझै पनि सानै उमेरको छोरा मान्छे किन नहोस्, ऊ रोएको छ भने ‘केटा मान्छे भएर पनि रुन्छन्’ भन्ने अभिव्यक्ति दिनु धेरैका लागि सामान्य लाग्छ। केटा मान्छेले घरको काम गर्नुलाई हामी ‘अहो !’ भनेर ‘यसको श्रीमतीलाई कति सजिलो, यसको श्रीमती कति भाग्यमानी’ भनेर प्रशंसा गर्न कत्ति हिचकिचाउँदैनौँ।
महिलाका हकमा पनि, यदि कोही महिलाले आफ्नो श्रीमानभन्दा धेरै पढेकी छिन् या धेरै कमाउँछिन् भने ‘यो कसरी सम्भव भयो?’ भन्दै चियोचर्चो गर्न, उनको चरित्रमा नै खोट खोतल्न कत्ति असहज मान्दैनौँ। यस्ता थुप्रै उदाहरणहरू छन्, जसले लैंगिकता र लैंगिक समानता/समतालाई हेर्ने हाम्रो मनोविज्ञान प्रस्ट्याउँछ।
१. श्रीमान्को खुट्टा ढोग्नु: धर्म कि कुसंस्कार?
अक्सर बिहेको सिजन र तीजको रमझममा, सामाजिक सञ्जालमा एउटा प्रकृतिको भिडियो भाइरल हुने गर्छ। त्यो हो, श्रीमान्को खुट्टा ढोगेको भिडियो। त्यस्ता भिडियोहरूमा धेरैले संस्कृति र संस्कारलाई निरन्तरता दिएको भन्दै खुट्टा ढोग्ने महिलाको मुक्तकण्ठले प्रशंसा गर्छन्। सोही भिडियोमा कसैले उक्त प्रशंसाको विपरीत विचार राख्यो भने, संस्कृति र संस्कारको विरुद्ध गएको भन्दै गाली र अपशब्दको बर्सातै हुन्छ। कमेन्ट सेक्सनमा, श्रीमानको खुट्टा ढोग्नु ‘महिलाको धर्म, व्यक्तिगत रोजाइ र रहर हो’ भन्दै प्रतिक्रिया जनाउन सबै लैंगिक परिचयका व्यक्ति तँछाडमछाड गर्छन्। ‘सेलिब्रेटी’हरूले नै यस्तो प्रथालाई सगौरव प्रोत्साहन गरिरहेका हुन्छन्।
केही समयअघि नेपालकै चर्चित गायिकाले सोही प्रथालाई खुसीसाथ अँगालिनन् मात्रै, अन्तरवार्ताहरूमा पनि आफूले श्रीमानको खुट्टा ढोगेर श्रीमानप्रतिको आफ्नो माया र सम्मान दर्साएको बताइन्। त्यसैको आधारमा धेरैले उनको यस्तै संस्कारीपनले आफू फ्यान भएको भन्दै वाहवाही समेत गरे। त्यो भिडियोले श्रीमानको खुट्टा ढोग्नु ठिक हो कि होइन भन्ने बहस सार्वजनिक रूपमा फेरि गरिदियो। त्यस्ता बहसमा आएका प्रतिक्रिया, श्रीमानको खुट्टा ढोगेकै कारण या श्रीमानको खुट्टाको पानी खाएकै कारण कसैलाई ‘आइडल’ मान्ने प्रवृत्तिले देखाउँछ कि हाम्रो समाज अझै पनि श्रीमान् भनेको भगवान् हो र श्रीमती भनेको दास हो भन्ने मान्यतामा विश्वास राख्छ। जसले लैंगिक समानताप्रतिको बुझाइ र व्यवहार छर्लङ्ग त पारिदिन्छ नै, त्यो बुझाइलाई चिर्दै लैंगिकताको ज्ञान कुन तहसम्म पुगेर दिन आवश्यक छ भनेर पनि झस्काइदिन्छ।
यो त भयो खुट्टा ढोग्ने प्रथाको एउटा पाटो। अर्को प्रकृतिको भिडियो छ, श्रीमान्ले श्रीमतीको खुट्टा ढोग्ने। पछिल्लो समय देखा परेको यस प्रकृतिको भिडियोमा पनि ‘लाइकस्’, ‘कमेन्ट’, ‘भ्युअर्स’ धेरै हुने गर्छ। भिडियो हेर्दा, कमेन्ट पढ्दा, झट्ट धेरैलाई लागि पनि हाल्छ, ‘हो त, परिवर्तन त यसरी पो हुन्छ’, ‘यसरी पो हो त पितृसत्ताविरुद्ध लड्ने।’ यो अभ्यासले पनि लैंगिक समानताको चेतको अवस्था कस्तो छ भनेर बुझाउन भूमिका खेल्छ। त्यहाँको प्रतिक्रिया हेर्दा अनुमान लगाउन सकिन्छ कि, धेरैले बुझेको लैंगिकता भनेको एउटा लिंगको मान्छेले जे जे बानी–व्यवहार–चलनको अनुसरण गर्छ, यदि अर्को लिंगको मान्छेले पनि त्यही व्यवहार गर्छ भने त्यो समानता हो। ती बाध्यकारी व्यवहार चाहे गलत हुन् या सही, त्यसको हेक्का धेरैले राखेको पाइँदैन।
तर यस्ता मान्यतालाई प्रश्रय दिइरहँदा हामीले के बिर्सिरहेका हुन्छौँ भने समानता भनेको श्रीमान्ले श्रीमतीको खुट्टा ढोग्दैमा हुने होइन। भलै यस्ता प्रथाले पितृसत्ताको मूल्यमान्यताविरुद्ध प्रश्न उठाउने चेष्टा गर्छ, तर सही समानता प्राप्त गर्नमा गहन भूमिका खेल्दैन। समानता भनेको अर्को लैंगिक परिचय बोकेको मान्छेसँग बदलाको भाव आस गर्नु पनि होइन। यस्ता अभ्यासले क्षणिक ध्यान आकर्षित गरे पनि र सन्तुष्टि मिले पनि असमान अवसर, निर्णय लिने क्षमता लगायतका मुद्दालाई गहन तरिकाले सम्बोधन गर्दैन। साथै, दीर्घकालीन रूपमा समानता स्थापित गर्न कुनै महत्त्वपूर्ण भूमिका खेल्दैन। समानता भनेको ती व्यक्तिले बिताउने बाँकी जीवनका हरेक मोडमा, हरेक पलमा दुवैले एक अर्काबाट अनुभूति गर्न पाउने हो। जहाँ एक अर्काप्रति कुनै बदला या स्वार्थरहित सम्मान, समझदारी, सहकार्य, समानुभूति हुन्छ र एक अर्काको कमजोरीलाई पनि ससम्मान स्वीकार गर्दै व्यक्तिको रुचि, क्षमता र दक्षता अनुसार सशक्त बनाउन प्रयत्न गरिन्छ।
२. घरभित्रको काम कसको?
घरभित्रको काम, विशेष गरी खाना पकाउने, भाँडा माझ्ने, घर सफा गर्ने, कपडा धुने, सामान मिलाउने, इत्यादि काममा केटीको गुण खोजेर सम्बन्ध बिस्तारको मेलो सार्ने प्रवृत्ति हाम्रोमा कायमै छ। ‘लच्छिनकी छे केटी, घरको काम सबै जानेकी छे’, ‘बिहे गर्ने उमेर भइसक्यो, अब त घरको काम सिक्, नत्र ‘सासू’को वचन सुन्नुपर्ला।’ यस्ता मान्यता अझै पनि हाम्रो मनस्थितिमा, परिवारमा, गाउँ समाजमा जकडिएको छ। केटी मान्छेको मूल्यांकन उसको शैक्षिक र वैचारिक क्षमताभन्दा उसले घरभित्रको काम कत्तिको जानेकी छे, नातासम्बन्ध–इष्टमित्र–परपाउना रिझाउन सक्छे कि नाइँ भन्नेले निर्धारण गरिदिन्छ। टिकटक र रिलतिर त झन् श्रीमतीले हातले लुगा धोइरहेको भिडियोमा उक्त महिलालाई ‘नयाँ वासिङ’ भन्दै भद्दा मजाक गरिएका सामग्री ‘भाइरल’ नै छ।
भारतकी प्रसिद्ध महिलावादी तथा लेखक कमला भासिनका अनुसार घरको काम महिलाको मात्रै जिम्मेवारी ठान्नु पितृसत्तात्मक समाजको प्रतिबिम्ब हो। हामीले के बुझ्न जरुरी छ भने, घरको काम महिला मात्रै नभएर, साना बालबच्चाबाहेक परिवारका सबैको जिम्मेवारी हो। हाम्रो पाठ्यक्रममा भने अझै पनि ‘आमाले भात पकाउनुहुन्छ’ भन्ने भाष्य र त्यसलाई प्रस्ट्याउने चित्रहरू भेटिन्छन्। एउटी आमाले या महिलाले घरबाहिरका, कार्यालय, व्यवसायका जिम्मेवारी सफलतापूर्वक सम्हालिरहँदा पनि घरभित्रको कामहरूमा उसले शतप्रतिशत जिम्मेवारी निभाएकी छे कि छैन भनेर चियोचर्चा हुन्छ। तर, यही मान्यता छोरा मान्छेको हकमा भने लागु हुँदैन। उसको क्षमता निर्धारणका लागि उसको कमाइ र शैक्षिक योग्यता नै पर्याप्त हुन्छ। घरबाहिरको काम बराबर गरेर आउने पुरुष र महिलामा, पुरुषलाई घर फर्किसकेपछि आरामको आवश्यकतालाई हामी स्वतः स्वीकार गरिदिन्छौँ। तर महिलालाई ‘घरभित्रको काम तिम्रो जिम्मेवारी हो’ भन्ने आभास प्रत्यक्ष–परोक्ष गराइरहन्छौँ।
त्यति मात्रै होइन, घरको काममा पुरुषको पनि समान सहभागिता देख्यौँ या बढी रुचि पायौँ भने ‘कस्तो छोरी मान्छेजस्तै’ भनेर निर्धक्क गुणगान गाउँछौँ। उसलाई महान् र उसको श्रीमती या घरका अन्य महिला सदस्यलाई भाग्यमानी ठानिदिन्छौँ। तर, छोरी मान्छे या महिलाको हकमा घरबाहिर र घरभित्रको जिम्मेवारी एक्लैले सम्हाल्दा पनि सहयोगी हात हत्तपत्त बढाउँदैनौँ। खुलेर उनका प्रशंसा गर्न हामीलाई हामीभित्र गढेको लैंगिक चेतले अनुमति नै दिँदैन। अनुमति दिए पनि हामी महिलाको उक्त भूमिकालाई सामान्य ठानिदिन्छौँ र प्रशंसालाई मनभित्रै गुम्साएर राख्छौँ। हामीले विचार नै गरिरहेका हुँदैनौँ कि, हाम्रो त्यस्तो प्रवृत्ति नै लैंगिकता प्रतिको हाम्रो दृष्टिकोण हो। त्यही दृष्टिकोण नै लैंगिक समानता/समताको परिभाषालाई फराकिलो गरी हेर्न, बुझ्न हाम्रा लागि बाधा बनिरहेको छ।
३. बच्चाको हेरचाह र जिम्मेवारी कसको?
एउटा बच्चा जन्मिसकेपछि ऊ हुर्किँदै गर्दा कस्तो लैंगिक चेतसहित हुर्किन्छ भन्ने उसको घरभित्रको लैंगिक अभ्यास र व्यवहारले निर्धारण गर्छ। एउटा बच्चालाई लैंगिकताबारे किन र कसरी बुझाउने भन्ने हाम्रो घरपरिवारमा गरिने सामान्य बोली–व्यवहार, बच्चासँगको आत्मीयता, बच्चाको हेरचाह र जिम्मेवारी बहनले सिकाउँदै लैजान्छ। तर धेरैलाई यो सत्य थाहा छैन या हामी यसलाई सामान्य ठानेर नजरअन्दाज गरिदिन्छौँ। हाम्रो यही प्रवृत्तिले सदियौँदेखि लैंगिकताका मुद्दा, बहस परम्परावादी सोच र व्यवहारमा नै अल्झिरहेको छ।
नेपाल, भारतलगायत विकासोन्मुख र विकसित मानिएकै देशमा पनि बच्चाको जिम्मेवारी र हेरचाहको विषय आउनसाथ ‘महिला’को भूमिका ‘अहम्’ मानिन्छ। जैविक क्षमताअनुसार यो सत्य पनि हो। एउटा बच्चालाई महिलाले ९ महिना गर्भमा राख्छिन्, जन्माउँछिन्, स्तनपान गराउँछिन्। यो अवधिमा उनको शरीरमा थुप्रै हर्मोनजन्य उतारचढाव हुन्छ र विशेष भूमिका ‘हर्मोन अफ लभ’ (मायाको हर्मोन) भनेर चिनिने ओक्सिटोसिन हर्मोनले राख्छ। तर यसको मतलब बच्चाको पूर्ण हेरचाह र जिम्मेवारी आमाको मात्रै दायित्व भने होइन। एउटा बच्चालाई हुर्काउन उसको आमा र बुवा दुवैको भूमिका विशेष हुन्छ।
यद्यपि, बच्चाको हेरचाहको विषय आउनसाथ हामी आमाको मात्रै जिम्मेवारी हो भन्ने बुझ्छौँ। ‘आमाले यति पनि सिकाएकी छैन?’, ‘दिनभर घर बसेर जाबो एउटा बच्चा हेर्न नसक्ने पनि के आमा’, यस्ता भाष्य हामी धेरैले सुनेका भोगेका हुन्छौँ। अझ कस्तो मान्यता पनि समाजमा व्याप्त छ भने, श्रीमान्ले या केटा मान्छेले आफ्नो बच्चाको सह्यार गर्दा, राम्रो हेरचाह राख्दा, ‘कस्तो आमाले जस्तै गरी बच्चा हेरेको’, ‘अहो ! छोरा मान्छे भएर पनि सबै जानेको’, ‘श्रीमान्ले बच्चाको सबै काम गर्ने भएपछि श्रीमतीलाई त हाइसन्चो रहेछ।’
तर बच्चाको हेरचाह गर्ने जिम्मेवारी लिने काममा अधिकांश अवस्थामा आमाबुवा दुवैले समान भूमिका निभाउन सक्छन्, सक्नुपर्छ र त्यस्तो अभ्यासलाई सामान्य प्रक्रियाका रूपमा स्वीकार बनाउनुपर्छ। लैंगिक समानताले कुनै पनि व्यक्तिको अधिकार, जिम्मेवारी र अवसर लैंगिक परिचयको आधारमा मात्रै निर्भर हुँदैन भनेर बुझाउँछ। यदि सबै लैंगिक पहिचान भएका व्यक्ति घर, समुदाय तथा समाजको हरेक क्रियाकलापमा पूर्ण साझेदार हुन्छन् भने त्यो लैंगिक समानता हो।
यस्ता प्रशस्त उदाहरण छन्, जसले संस्कार, परम्परा, धर्म आदिका नाममा जकडिएका हाम्रा मनोविज्ञानले गर्दा अझै पनि हामीले लैंगिक समानता हासिल गर्न सकिरहेका छैनौँ भन्ने प्रस्ट्याउँछ। सन् २०२४ को ग्लोबर जेन्डर ग्याप इन्डेक्सले समेत कुनै पनि देशले पूर्ण लैंगिक समानता हासिल गर्न सकिरहेका छैनन् भन्ने देखाउँछ। त्यति मात्रै होइन, सन् २०१५ पछि तीनमध्ये एक देशले लैंगिक समानताको क्षेत्रमा कुनै प्रगति गर्न सकेका छैनन् भने भेनेजुएला, अफगानिस्तान, दक्षिण अफ्रिकाजस्ता १८ देशमा महिलाको अवस्था पनि बिग्रिएको छ। तथ्यांकले भन्छ, विश्वभर लैंगिक समानता हासिल गर्न अझै १३४ वर्ष लाग्नेछ। यसको अर्थ २०३० को दिगो विकास लक्ष्य (एसडीजी) को लक्ष्यभन्दा झन्डै पाँच पुस्ता पछाडि मात्रै लैंगिक समानता कायम हुन्छ।
किनकि, लैंगिक समानताको अवस्था नाजुक छ। हाम्रै मनोविज्ञानबाट शुरू हुने लैंगिक असमानता, हाम्रो परिवार, समाज, राज्य, आर्थिक, शैक्षिकलगायत यावत पक्ष, सबैतिर गढेको छ। विश्वभर तीनमध्ये एक महिलाले आफ्नो जीवन अवधिभर कुनै न कुनै प्रकारको यौन तथा लैंगिक हिंसा भोगेका हुन्छन्। त्यस्तै, ६८ प्रतिशत पारालिंगी महिलाले आफ्नो यौनिक तथा लैंगिक पहिचानका आधारमा शारीरिक हिंसा भोगेका छन्। यस्तै, काम गर्ने उमेरसमूहका २.४ बिलियन महिला, पुरुष बराबरको आर्थिक अधिकार प्राप्त गर्नबाट वञ्चित छन्। अझ डरलाग्दो तथ्यांक त के छ भने प्रत्येक ११ मिनेटमा कोही महिला या किशोरीको आफ्नै परिवारका सदस्यबाट लैंगिकतासँग सम्बन्धित कारणले हत्या हुने गरेको छ। यस्ता तथ्यांक सार्वजनिक भइरहँदा यिनलाई निरुत्साहित गर्न पहल नै नभएका होइनन्।
तर जुन रफ्तारमा हुनुपर्ने हो, त्यो भने हुन सकिरहेको छैन। अझै पनि हामी शैक्षिक, आर्थिक, कानूनी, नेतृत्व, साझेदारी, सहकार्यजस्ता अधिकारका विषयमा हरेक लैंगिक तथा यौनिक पहिचान भएकालाई समान दृष्टिले हेर्न चाहँदैनौँ। सामूहिकभन्दा पनि आफूकेन्द्रित स्वार्थ र शक्ति प्राप्तिको लडाइँ हाम्रा लागि विशेष हुन्छ, जसले न त समानतालाई स्विकार्छ न त समभावलाई नै आत्मसात् गर्छ।
(लेखकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता तथा प्रस्तोता हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
करुणा देवकोटा
