अन्तरिक्षमा २ उपग्रह ‘डक’ गरेर भारतले कायम गर्‍यो नयाँ कीर्तिमान

इसरोका अनुसार डकिङपछि दुइटा उपग्रहलाई एउटै रूपमा नियन्त्रण गर्ने कार्यमा सफलता मिलेको छ। अबका दिनमा ‘अनलकिङ’ र ‘पावर ट्रान्सफर’बारे अनुसन्धान गरिने एजेन्सीले जनाएको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स०१ (चेजर) र एसडिएक्स०२ (लक्ष्य) अन्तरिक्षमा ‘डक’ गरेको छ। स्पेस डकिङ भनेको अन्तरिक्षमा दुइटा अन्तरिक्ष यान जोड्नु हो।

डकिङ प्रक्रिया हालैका हप्तामा कम्तिमा दुई पटक रद्द गरेर अन्ततः बिहीबारको लागि निर्धारित गरिएको थियो।

अन्तरिक्ष एजेन्सीका अनुसार डकिङपछि दुइटा उपग्रहलाई एउटै वस्तुका रूपमा नियन्त्रण गर्ने कार्यमा सफलता मिलेको छ। अबका दिनमा ‘अनलकिङ’ र ‘पावर ट्रान्सफर’बारे अनुसन्धान गरिने एजेन्सीले जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत देशका वैज्ञानिकले उपलब्धि हासिल गरेकोमा बधाई दिँदै दिएका छन् “आगामी वर्षहरूमा भारतको महत्त्वाकांक्षी अन्तरिक्ष अभियानका लागि यो महत्त्वपूर्ण कदम हो,” उनले लेखेका छन्।

रुस, अमेरिका र चीनपछि स्पेस डकिङमा सफलता प्राप्त गर्ने भारत चौथो देश बनेको छ।