विद्युत् अभावले पालिकाले दिने सेवा प्रभावित हुने गरेको छ। सडक सञ्जाल सहज नहुँदा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानी गर्न समस्या छ।
मनाङ– गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ। तर मनाङको नार्पाभूमि गाउँपालिका भने हालसम्म न सडक सञ्जालले जोडेको छ, न त बिजुली बत्ती नै विस्तार हुनसकेको छ।
विद्युत् अभावले यहाँका पालिकाबाट दिइने सेवामा समस्या आउने गरेको छ। पालिकासम्म पुग्नै पैदल हिँडेर दुई दिन लाग्छ। बिजुली अभावले सेवा प्रवाह समयमा हुन सक्दैन। सौर्य ऊर्जाको भरमा पालिका कार्यालयबाट सेवा प्रवाह गर्दै आए पनि सबैजसो दिन घाम नलाग्दा समयमा काम नै हुन नसक्ने अवस्था रहेको कर्मचारी बताउँछन्।
कार्यालयसम्म सडक सञ्जाल पुर्याउने उद्देश्यले वार्षिक रूपमा बजेट छुट्याउँदै आएको गाउँपालिका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाले बताए। “पालिकावासीलाई सेवा प्रवाह र यात्रा सहज बनाउने लक्ष्यका साथ सडकलाई बजेट व्यवस्थापन गर्दै आएका छौँ। पालिकाले मात्र सम्भव त छैन,” उनले भने।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक र विद्युत् नपुगेका गाउँ प्राथमिकतामा रहेको बताए। “प्रदेशका प्रत्येक सडक र विद्युत् नपुगेका क्षेत्र मुख्य प्राथमिकतामा छन्, ती क्षेत्रमा चालु आर्थिक वर्षमा नै केही कामको थालनी हुन्छ, संघ सरकारसँग पहल गरेर भए पनि सडक र विद्युत् पुर्याउने लक्ष्यमा छौँ,” उनले भने।
चालु आर्थिक वर्षमा सडक सञ्जाल पुर्याउन सम्भव नरहेको गाउँपालिका अध्यक्ष लामाको भनाइ छ। “प्रदेश सरकारले सडक र बत्तीका लागि योजना निर्माण गरेअनुरूप नै काम हुनसके नार्पाभूमिवासीले सहज यात्रा र बिजुली बत्ती पाउने आशा जगाउनेछ,” उनले भने, “कति समय लाग्ने भन्ने पक्कापक्की भने छैन।”
प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले नार्पाभूमिमा सडक सञ्जालले जोड्नका लागि ट्र्याक मात्र खोल्न करिब १ अर्ब रुपैयाँ लाग्ने बताए। “प्रदेश सरकार बजेट पुर्याउन सकिने अवस्था छैन, चालु आवमा योजना निर्माण गरी कार्यान्वयनको पक्षमा छौँ,” उनले भने, “सडक सञ्जाल यसै वर्ष पुर्याउन नसकिए पनि बत्ती भने पुर्याउँछौँ,” उनले भने।
पालिकाको सेवा नै सदरमुकाम केन्द्रित भएर दिनुपर्ने अवस्था रहेको कर्मचारी बताउँछन्। कार्यालयबाट सेवा प्रवाहमा सकस हुँदा स्थानीयले सेवा लिन सदरमुकाम पुग्नुपर्ने अवस्था अझै कायम रहेको स्थानीय मिंमार फुन्चो लामाले बताए। भने, “पालिका अध्यक्षलगायत यहाँका नेतृत्वले नगरेका होइनन्, तर एक्लै गर्न सम्भव छैन, यसले अझै कति वर्ष पछि पर्छौं भन्ने हो, प्रदेश र संघ सरकारले पनि चासो दिनुपर्छ।”
मनाङ पर्यटकीय गन्तव्य पनि हो। यहाँ भ्रमणका लागि आउने पर्यटकका लागि स्थानीयले उत्पादन गरेका खाद्यान्नले मात्र पुग्दैन। खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानीका निम्ति सडक सञ्जाल सहज नहुँदा समस्या छ। ज्यान जोखिममा राखेर सामग्री ढुवानी गर्नुपर्ने अवस्था छ।
जोखिम सूचीकृत क्षेत्र भएकाले यहाँ आउने पर्यटक बिरामी परेमा अझ समस्या पर्ने गरेको छ। महँगो मूल्यमा हेलिकप्टर नै चार्टर गर्नुपर्ने हुन्छ। बिरामीलाई स्वास्थ्यको पहुँचमा पुर्याउनसमेत सहज छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
