विदेशी मुद्रा सञ्चितिमा सुधार, शोधनान्तर २० अर्बले बचतमा

असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब २७ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ।

काठमाडौँ– मुलुकको कुल विदेशी मुद्रा सञ्चितिमा क्रमिक सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको आर्थिक एवं वित्तीय प्रतिवेदनअनुसार गत असारको तुलनामा कात्तिक मसान्तसम्म आइपुग्दा विदेशी मुद्रा सञ्चिति २.५ प्रतिशतले वृद्धि भएको हो। 

असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब २७ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ बराबर छ भने बैंक तथा वित्तीय संस्थाहरूसँग १ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ बराबर छ। यसले ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।

यस्तै, रेमिट्यान्समा भएको वृद्धि र सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा पुगेको छ। असोजदेखि बढ्न थालेको शोधनान्तर कात्तिकमा थप सुधार देखिएको हो।

गत वर्षको सोही अवधिमा भने शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड घाटामा रहेको थियो। मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तरनै शोधनान्तर हो। चार महिनाको अवधिमा चालु खाता भने ३५ अर्ब ४० करोडले घाटामा छ। गत वर्षको यसै अवधिमा चालु खाता घाटा २ खर्ब २० अर्ब थियो।

केन्द्रीय बैंकका अनुसार गत साउनदेखि कात्तिक मसान्तसम्म ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशत बढी हो।

गत वर्ष यसै अवधिमा रेमिट्यान्सको आप्रवाह ७ प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्समा वृद्धि भएको हो।