दुग्ध विकास संस्थानले तिर्‍यो एकैचोटि ३१ वर्षको सम्पत्ति कर

संस्थानले आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको १ करोड दुई लाख ८७ हजार ९२६ रुपैयाँ सम्पत्ति कर महानगरलाई तिरेको छ।

काठमाडौँ– दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैचोटि तिरेको छ। पुस २८ गतेको मूल्यांकनबमोजिम संस्थानले १ करोड दुई लाख ८७ हजार ९२६ रुपैयाँ सम्पत्ति कर महानगरलाई तिरेको हो। महानगर-२६ का सचिव केदार रिमालका अनुसार संस्थानले आर्थिक वर्ष २०४९/५० देखि २०८१/८२ सम्मको घरजग्गा/सम्पत्ति कर बुझाएको हो। 

संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक संघसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले पत्राचार गरिसकेको छ। महानगरले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा संकलन प्रक्रियाबारे व्यवस्था गरेको छ। जसअनुसार नक्सापास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा/सम्पत्ति कर गणना हुने व्यवस्था रहेको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए।

“पत्राचारपछि करदाताहरू सम्पर्कमा आउने क्रम शुरू भएको छ। यो सकारात्मक पक्ष हो। आर्थिक ऐनले गरेको बक्यौता कर असुलीसम्बन्धी व्यवस्थाबमोजिम राजस्व असुल गरिनेछ,” उनले भने। ऐनबमोजिम कर दाखिला नगर्ने करदातालाई राजस्व विभाग वा वडा कार्यालयले पहिलो पटक ३५ दिनको समय तोकी पत्र, इमेल वा म्यासेजमार्फत जानकारी गराउने उनको भनाइ छ। 

थप समय माग गरेमा राजस्व विभागका प्रमुखको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले बढीमा १० दिनसम्म अवधि थप गर्नसक्ने व्यवस्था रहेको जनाइएको छ।