पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्ष जेल सजाय

अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण खान दम्पतीलाई अदालतले दोषी ठहर गरेको हो।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचार मुद्दामा अदालतले दोषी ठहर गरेको छ। अदालतले खानलाई १४ वर्षको जेल सजाय सुनाएको हो। 

“अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ। खान दोषी ठहरिएका छन्,” न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने। खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ।

अदालतले खानलाई राखिएको इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाइपछि फैसला सुनाएको हो। अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ। 

खान सन् २०२३ अगस्तदेखि जेलमा छन्। उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन्। यी मुद्दा आफूलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको खानको दाबी छ। 

पत्नी बुशरा बीबी भने हालसालै जेलबाट रिहा भएकी थिइन्। उनलाई पनि अदालतबाटै पक्राउ गरिएको छ। शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भएकी थिइन्।