नयाँ सम्झौता नहुन्जेल दुवै संस्थाको सहकार्यको दैनिकी सञ्चालनका लागि सम्बन्धित डीन र प्रशासकीय निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति गठन गरिएको छ।
काठमाडौँ– काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको चार वर्षदेखिको विवाद सुल्झिएको छ। विवाद समाधान गर्न गठित सहजीकरण समितिको सुझावसहितको प्रतिवेदन शुक्रबार भएको विश्वविद्यालय सभाको ९८ औँ बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको सम्बन्ध पूर्ववत् भएको हो।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार भएको सभाको बैठकले विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय सहजीकरण समितिको प्रतिवेदनलाई पारित गरेको हो। प्रतिवेदनअनुसार तीन महिनाभित्र नयाँ सम्झौता तयारीका लागि आयोगका सदस्य अधिकारी नै संयोजक रहेको समिति गठन गरिएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार समितिमा विश्वविद्यालयबाट प्राडा. ऋषिकेश वाग्ले र प्राडा. मनोज हुमागाईं तथा अस्पतालका तर्फबाट डा. विराजमान कर्माचार्य र प्राडा. राजीव श्रेष्ठ रहेका छन्। समितिले नयाँ सम्झौताको मस्यौदा आगामी सिनेटमा प्रस्तुत गर्नेछ। सम्झौता नहुन्जेल दुवै संस्थाको दैनिक सञ्चालन सम्बन्धित संकायका डीन र प्रशासकीय निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति पनि गठन भएको छ।
यसअघिका सिनेट बैठकमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा समेत ख्यातिप्राप्त ती दुवै संस्था आपसमा मिल्नु उचित हुने भएकाले अलग हुने प्रस्ताव नल्याउन आग्रह गरेका थिए।
विसं. २०५९ चैत १९ गतेको पारस्परिक सम्झौताका आधारमा सहकार्य गरेका ती संस्थाबीच बेमेल भएपछि गत साउन ३० गतेको विश्वविद्यालय सभाको ९७ औँ बैठकको मार्गदर्शनअनुसार आपसी संवाद थाल्ने निधो भएको थियो।
प्रधानमन्त्री ओलीले विवाद मिलाउन गठित समितिले सघन परामर्शसमेत गरेर समाधान निकाल्न सकेकामा खुशी व्यक्त गर्दै त्यसले नयाँ क्षितिज उघारेको बताए। प्रतिवेदनले नयाँ एकतासहित भविष्यको नयाँ गोरेटो तय गरेको, यसलाई नबिगारीकन कार्यान्वयनमा लान सकेमा राम्रो प्रतिफल आउने उनले बताए।
सहजीकरण समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा. भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्राडा. मनोज हुमागाईं, स्कुल अफ लका डीन डा. ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्राडा. राजीव श्रेष्ठ थिए।
उपकुलपति छनोटको कार्यविधिमा पुनर्विचार गर्न निर्देशन
बैठकले विश्वविद्यालयको नयाँ उपकुलपति चयनका लागि गठित खोज तथा सिफारिस समितिलाई चिकित्साशास्त्र संकायमा कार्यरत वरिष्ठ शिक्षकले समेत आवेदन गर्न पाउनेगरी कार्यविधिमा व्यवस्था गर्न निर्देशन दिएको छ।
उपकुलपतिको आवेदनका लागि आव्हान भएको सूचनामा आफूहरूलाई आवेदन गर्नबाट वञ्चित गराइएको भनी चिकित्साशास्त्र संकायका शिक्षकले कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएको विषयमा छलफलपछि बैठकले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको हो।
दुई कार्यकाल उपकुलपति भइसकेका व्यक्तिसमेत आवेदन दिन नपाउने तथा हरेक कार्यकालका लागि कार्यविधि संशोधन भइरहने स्थितिप्रति बैठकमा ध्यानाकर्षण गराइएको थियो।
पूर्वउपकुलपति प्राडा. सुरेशराज शर्माको संयोजकत्वमा गठित खोज तथा सिफारिस समितिले चिकित्साशास्त्र संकायका शिक्षकलाई पनि समेट्न उम्मेदवार छनोटको कार्यविधि संशोधन गरेर पुनः सूचना जारी गर्ने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
