यू१९ विश्वकप क्रिकेट : उद्घाटन खेलमा बांग्लादेशको सामना गर्दै नेपाल

मलेसियामा आयोजना हुने आईसीसी यू१९ महिला विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले बांग्लादेशको सामना गर्दै छ। खेल नेपाली समयअनुसार शनिबार दिउँसो १२ः१५ बजेदेखि शुरू हुनेछ।

काठमाडौँ– मलेसियामा आयोजना हुने आईसीसी यू१९ महिला विश्वकप क्रिकेटमा नेपालले बांग्लादेशको सामना गर्दै प्रतियोगिताको उद्घाटन हुने भएको छ।

पहिलो पटक विश्वकपमा सहभागिता जनाएको नेपालले बांग्लादेशविरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गर्ने लक्ष्य लिएको छ। उक्त खेल नेपाली समयअनुसार शनिबार दिउँसो १२ः१५ बजेदेखि शुरू हुनेछ।

गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको विश्वकपका लागि एशियाली छनोट खेल भएको थियो। उक्त खेलमा नेपाल विश्वकपका लागि छनोट भएको हो। त्यतिबेला नेपाल पहिलो खेलमा यूएईसँग पराजित भएको थियो भने अन्तिम खेलमा नेपालले यूएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो।

विश्वकप छनोटसँगै पहिलो पटक आयोजना हुन लागेको यू१९ महिला एशिया कपमा समेत नेपाल सहभागी हुने अवसर पाएको हो। विश्वकपमा विभिन्न १६ राष्ट्रको सहभागिता रहेको छ। जसलाई चार समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा नेपाल समूह ‘डी’मा परेको छ। 

नेपालको समूहमा स्कटल्यान्ड, बांग्लादेश र अस्ट्रेलिया छन्। नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग खेल्ने छ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ।

यसैगरी प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासहित साविक विजेता भारत, श्रीलंका र वेस्ट इन्डिज छन्। त्यस्तै समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्युजिल्यान्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्। 

प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गनेछन्। सुपर सिक्समा समान ६ देशको दुई समूह हुनेछ। सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इन्डिजसँग खेल्न पाउने सम्भावना रहनेछ। सुपर सिक्सका दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। 

नेपाली टोलीमा कप्तान पूजा महतोसँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा र सावित्रा धामी छन्। त्यस्तै, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन्।