आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह

कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको दूतावासले जनाएको छ।

काठमाडौँ– नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत देशमा नआउन आग्रह गरेको छ।

दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको हो। 

म्यानमारको गोल्डन ट्रयांगलमा लगी गैरकानूनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्यान्ड छिरेका एक नेपाली नागरिकलाई थाइ सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको दूतावासले जनाएको छ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानूनविपरीत छिटो पैसा कमाउने हेतुले वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ।