मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन्।
जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका– ४ को मझौरा गाउँका २०० भन्दा बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन्।
मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ मुसहर समुदायका ७५ घर छन्। यहाँका २०० बढी बालबालिका गत मंसिर पहिलो सातादेखि नै विद्यालय जान छाडेका छन्। मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल ३०० मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मंसिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन्।
मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन्। स्थानीय ६० वर्षीया सुनैनादेवी सदाले बालबालिकाको जीउमा पर्याप्त न्यानो लुगाफाटा नभएको, खानेकुराको अभाव र जीउ न्यानो बनाउन आगोसमेत अभाव भएको बताइन्। जाडो शुरू भएदेखि नै उनीहरू विद्यालय नगएको सोही ठाउँकी ६५ वर्षीया महिला बासोदेवी सदाको भनाइ छ।
खर, पराल र पात पतिंगर सोहोरेर जेनतेन खाना पकाएर खाइरहेका मुसहरलाई जाडोको महिना निक्कै कष्टकर हुने गरेको भन्दै स्थानीय ७२ वर्षीया कोशिलादेवी सदाले घर बाहिर गएमा स्वास्थ्य बिग्रिने डरले बालबालिकालाई विद्यालय जानबाट रोकेको पीडा सुनाइन्। चारैतिर झिक्राझिक्री र खरपातले बनाएको घर, छाना चुहिने, शीत झर्छ। त्यसमै एक अर्कासँग टाँसिएर बसेका मुसहरका बालबालिका जाडो छल्नकै लागि विद्यालय नगएका हुन्।
न बस्ने घर, न खाने अन्न र त्यसमाथि कठ्यांग्रिदो जाडोले उनीहरूको रोजगारी पनि बन्द भएको छ। परिवार पाल्न निक्कै कठिनाइ भएको छ। त्यसमाथि बालबालिकाको पठनपाठन झन् बोझझैँ भएको छ।
स्थानीय ५४ वर्षीय रामसेवक सदाले जाडोको बेला कामकाज गर्न नसकिने, पैसाको अभाव हुने र लुगाफाटोको समस्या रहेको कारण यस बस्तीमा राम्ररी खानपान पनि पुर्याउन सबैलाई हम्मेहम्मे भएको बताए। बालबालिकालाई कठ्यांग्रिदो जाडोमा घुर ताप्न लगाएर ज्यान जोगाउने गरेको उनले सुनाए।
यस बस्तीमा जाडोयाममा सबैलाई न्यानो लुगाफाटा, पोषिलो खानपिन र चिसो हावा छल्ने घरको अभाव बर्सेनि हुने गरेको स्थानीय ३९ वर्षीय वीरेन्द्र सदाले बताए। अभावको बेला कसैले कहीँबाट कुनै सहयोग नगरेपछि झन् बढी समस्या भएको छ।
बस्ती नजिकै अर्को टोलमा घर रहेको वडाध्यक्ष अब्दुल गफार राईन मुसहरको पीडासँग पीडित रहेको बताउँछन्। तर, उनीहरूको समस्याको निदान आफ्नो हैसियतले गर्न नसकिने वडाध्यक्ष राईनको भनाइ छ। वडाध्यक्ष राईनले मुसहरी बस्तीमा घर निर्माणको योजना पनि अगाडि सार्न खोज्दा त्यहाँ मुसहरसँग जग्गा अभाव रहेको, सबैसँग पर्याप्त जग्गा नरहेको कारण बाहिरी सहयोगले बनाइने एकै खालको घरको परियोजना चाहेर पनि लागू गर्न नसकिएको बताए।
मुसहर बस्तीका २०० भन्दा बढी बालबालिका विद्यालय नगइरहेको सवालमा वडाध्यक्ष राईनले आफूले विद्यालय पठाउन मात्रै आग्रह गर्ने बताए। तर उनीहरूको बालबालिकाहरूको अभावलाई पूरा गर्नसक्ने अवस्था नरहेको कारण जबरजस्ती गर्न नसकिने उनको भनाइ छ।
यस मुसहर बस्तीमा अहिले बूढापाखा ठाउँठाउँमा खर, पराल र पातपतिंगर ल्याएर ठूलठूला घुर बालेर आगो ताप्दै दिन बिताउने गरेको देख्न सकिन्छ। महिला तथा बालबालिका घरभित्र आगो बालेर आगोकै वरिपरि बसिरहेको देख्न सकिन्छ।
यस्तो अवस्थामा त्यस बस्तीका बालबालिकालाई ज्यान जोगाउनु नै मुस्किल छ। यस बस्तीका मुसहरहरू संघीयता र लोकतन्त्रको अलि कति पनि अनुभूति गर्न नसकेको बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
