तराईमा ८.५२ प्रतिशतले बढ्यो महँगी

केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत रहेको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो चार महिनामा तराईमा महँगी बढेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार तराईमा ८.५२ प्रतिशतबराबरको मूल्य वृद्धि भएको छ।

केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत रहेको छ।

विसं २०७८ कात्तिक महिनामा यी क्षेत्रमा क्रमश: ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५ प्रतिशत मुद्रास्फीति रहेको थियो।

चालु आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०४ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टरेन्ट तथा होटल उप–समूहको मूल्य सूचकांक १५.९७ प्रतिशत, सूर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेयपदार्थको ८.८४ प्रतिशतले बढेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुको ८.४९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ८.३३ प्रतिशतले बढेको छ।