नेपाली महिला टोली खो–खो विश्वकपको फाइनलमा

नेपाली महिला राष्ट्रिय खो–खो टोली युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ।

तस्वीर : खो-खो विश्वकप भारत

काठमाडौँ– नेपाली महिला राष्ट्रिय खो–खो टोली युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो। 

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो। 

महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बांग्लादेशलाई ८४–२४ ले पराजित गरेको थियो। यसैगरी क्वाटरफाइनल खेलमा नेपालले इरानलाई १०३–८ अंकको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो।