सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, पान, मरीच, कागती, निम्बू, बेसार, अदुवालगायतका घाँस, कोसेबाली र तरकारी खेती लगाउन सकिन्छ।
झापा– कम लगानीमा बढी आम्दानी भएपछि झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ। धानखेत मासेरै सुपारी खेती विस्तार गर्ने लहर नै चलेको हो।
एकपटक लगाएपछि दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ। जिल्लामा दुई हजार ६३१ हेक्टर जमिनमा सुपारी खेती भइरहेको तथ्यांक छ। मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ३७ वर्षदेखि सुपारी खेती गर्दै आएका राजेन्द्र मिश्रले धानको तुलनामा सुपारीबाट १० गुणा बढी आम्दानी हुने बताए।
उनले डेढ बिघा जमिनमा सुपारी खेती गरेका छन्। थप केही बिघामा रोप्ने तयारी गर्दै छन्। सुपारीको फलबाट मात्र वर्षमा खर्च कटाएर वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुने गरेको बताए। सुपारिको पात र बिचमा लगाइने अन्य बालीसमेत बिक्री गर्दा पाँच लाखसम्म पुग्ने उनको भनाइ छ।
“कुलो नलाग्ने पाखो एक बिघा जग्गामा ५० मन धान फलाउन ४० मन धानको खर्च लगानी गर्नुपर्छ”, उनले भने, “सुपारी खेतीमा तीन लाख आम्दानी गर्न मलजलमा २० हजार लगानी गरे पुग्छ।” उनले धानखेती मासेर सुपारी लगाएका हुन्।
सुपारी नगदे बाली हो। फल लाग्न थालेपछि खरिद गर्ने व्यापारी अग्रिम दाम बुझाउन आउने गर्छन्। बिरुवा लगाएको छ वर्षपछि आम्दानी दिन्छ। यसको खेती विस्तार र प्रवर्धन गर्न सरकारले पनि विभिन्न कार्यक्रम ल्याउने गरेको छ।
सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, पान, मरीच, कागती, निम्बू, बेसार, अदुवालगायतका घाँस, कोसेबाली र तरकारी खेती लगाउन सकिन्छ। एकै सिजनमा विभिन्न बाली लगाउने यो प्रचलनलाई तीनतले खेती पनि भन्ने गरिएको छ। जिल्लामा सुपारी खेती प्रवर्धनका लागि सरकारले सुपारी जोन परियोजना लागू गरेको छ। जोनमा आबद्ध किसानलाई खेती विस्तार, मल, सिँचाइ, उपकरण र बजारीकरणका लागि सरकारले अनुदानसमेत दिने गरेको जोनका निवर्तमान अध्यक्ष नीलकण्ठ तिवारीले बताए।
यसवर्ष झापामा सुपारी दाना प्रतिकिलो ५० देखि ९५ रुपैयाँमा बोटबाटै बिक्री भएको छ। बजारको अभाव छैन। भारतबाट व्यापारीहरू सुपारी किन्न घरमै आउने गरेको तिवारीले सुनाए। सुपारीको दानाबाट मात्र होइन, पातबाट समेत आम्दानी हुने गरेको छ। मेचीनगर, बुद्धशान्ति र अर्जुनधाराका दर्जनौँ स्थानमा सुपारीको पातबाट उत्पादन हुने दुना–टपरी उद्योग सञ्चालनमा छन्। उद्योगले किसानको घरमा पुगेर प्रतिगाेटा दुई रुपैयाँमा सुपारीको पात किनेर लैजाने गरेका छन्।
सुपारीको पातका दुना, टपरी, थाल, बटुका र चम्चाले मुलुकका ठुला तारेहोटलदेखि युरोपसम्म बजार पाउने गरेको छ। जिल्लाको उत्तरी चुरे पहाडी शृङ्खलासँग जोडिएको तराईको भिरालो जमिनमा सुपारी असाध्य फस्टाउने गरेको छ। यहाँ जङ्गली हात्तीको उपद्रो बढी भएकाले किसान हात्तीले नखाने बालीका रूपमा सुपारी र चियाको खेती गर्छन्।
सुपारी जोनमा आबद्ध कृषि फार्म अर्थात् कृषक समूहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गोदाम निर्माण, उद्योग स्थापना र कृषि औजारमा ५० देखि ७५ प्रतिशत अनुदान दिने गरेको छ।
झापा नेपालकाे सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
