विश्वकपपछि सन्यास लिनेबारे सोचिरहेको थिएँ : लोरिस

लोरिसले लिलियन थुरामको १४२ खेलको कीर्तिमान तोडेका छन्। उनले फ्रान्सको टोलीबाट १४५ खेल खेले।

काठमाडौँ– फ्रान्स फुटबल टोलीका कप्तान ह्युगो लोरिसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सन् २०२२ को फिफा विश्वकपमा अर्जेन्टिनासँग फाइनलमा पराजित भएको तीन सातापछि उनले सन्यास लिएका हुन्।

"मैले सबै थोक दिएँ भन्ने भावनाका साथ आफ्नो अन्तर्राष्ट्रिय करिअर समाप्त गर्ने निर्णय गरेको छु," टोटेनहमका गोलरक्षक लोरिसले सोमबार प्रकाशित फ्रान्सेली खेलकुद दैनिक एल'इक्विपसँगको अन्तर्वार्तामा भने, "युरोकपको छनोट राउन्ड शुरू हुनुभन्दा साढे दुई महिनाअघि नै यो घोषणा गर्नु महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ।"

लोरिसले नोभेम्बर सन् २००८ मा २१ वर्षको उमेरमा उरूग्वेविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। उनी विश्वकपमा फ्रान्सका लागि सबैभन्दा धेरै क्याप खेल्ने खेलाडी पनि हुन्। उनले लिलियन थुरामको १४२ खेलको कीर्तिमान तोडेका छन्। लोरिसले फ्रान्सको टोलीबाट १४५ खेल खेले।

कतार विश्वकप २०२२ को फाइनलमा फ्रान्सले निर्धारित समय र त्यसपछि अतिरिक्त समयमा ३-३ गोलको बराबरी खेलेको थियो। तर, पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो।

लोरिस आफ्नो टोलीलाई लगातार दुई विश्वकपको फाइनलमा पुर्‍याउने चौथो कप्तान हुन्। यसअघि जर्मनीका कार्ल हेन्ज रूमेनिगेले आफ्नो टोलीलाई सन् १९८२ र १९८६ लगातार दुई पटक विश्वकप फाइनलमा पुर्‍याएका थिए। तर, दुवै विश्वकपको फाइनलमा जर्मनी पराजित भएको थियो। लेजेन्डरी फुटबलर डिएगो म्याराडोनाले पनि आफ्नो कप्तानीमा अर्जेन्टिनालाई लगातार दुई विश्वकपको फाइनलमा पुर्‍याए।

अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जितेको थियो भने १९९० मा जर्मनीसँग पराजित भएको थियो। डुंगाले सन् १९९४ र १९९८ मा आफ्नो कप्तानीमा ब्राजिललाई दुई पटक विश्वकप फाइनलमा पुर्‍याए। सन् १९९४ मा ब्राजिल विजेता बनेको थियो भने १९९८ मा फाइनलमा फ्रान्ससँग पराजित भएको थियो। लोरिससँग लगातार दुई विश्वकप जित्ने पहिलो कप्तान बन्ने मौका थियो, तर उनले सदुपयोग गर्न सकेनन्। "म विश्वकपपछि सन्यास लिनेबारे सोचिरहेको थिएँ ", उनी भन्छन्।

पूर्वनाइस र लियोनका गोलरक्षक लोरिसको कप्तानीमा फ्रान्सले रुसमा सन् २०१८ को विश्वकप जितेको थियो। उनले युरोकप २०१६ सहित कुल सात ठूला प्रतियोगिता खेलेका थिए। युरोकप २०१६ को फाइनलमा आयोजक फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो। कतार विश्वकपमा फ्रान्सका ब्याकअप गोलरक्षकमा रेनेसका अनुभवी स्टिभ मन्डान्डा र वेस्ट ह्याम युनाइटेडका अल्फोन्सो अरेओला थिए। तर, चोटका कारण विश्वकप खेल्न नसकेपछि एसी मिलानका २७ वर्षीय माइक म्याग्नानले लोरिसको स्थानमा फ्रान्सको टोलीबाट खेलेका थिए।

"१४ वर्ष फ्रान्सको गोललाई सम्हाल्न पाउनु सौभाग्यको कुरा हो। तर, यो मानसिक रूपमा थकित हुने काम पनि थियो", उनी भन्छन्, "फ्रान्सेली राष्ट्रिय टोली कुनै एक व्यक्तिको होइन। त्यहाँ एक गोलरक्षक तयार छन् भन्ने मलाई लाग्छ।"