यती विमान दुर्घटना : ४८ शव काठमाडौँ ल्याइयो

नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका शवको परीक्षण बुधबारबाट मात्रै हुने भएको छ।

काठमाडौँ- आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ शव काठमाडौँ ल्याइएको छ।

यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गर्दै पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएर निधन भएकामध्ये ४८ जनाको शव आज काठमाडौँ ल्याइएको बताएको हो। शव आज दिउँसो नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो।

मृतक ४८ जनाको शव आज काठमाडौँ ल्याइए पनि शवको परीक्षण भने भोलि बिहानदेखि शुरू गरिने भएको छ। शवलाई अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ। 

मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम आज भएकाले परीक्षण शुरू गर्न नसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। 

मृतकमध्ये कतिपय व्यक्तिको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा शव पहिचान गरेर परीक्षणपश्चात् एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गरिने बताइएको छ ।

चालकदलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा  ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एक व्यक्तिको खोजीकार्य जारी रहेको यती एयरलाइन्सले जनाएको छ ।