आगोमाथि कुदाएर घोडा चोख्याउने चलन (तस्वीरहरू)

विगत ५०० वर्षदेखि मनाइँदै आएको लस ल्युमेनियस नामको यस पर्वमा आगोमाथि दाैडाएर घोडालाई चोख्याउने अर्थात् पवित्र पार्ने काम गरिन्छ। 

तस्वीरहरू: रोयटर्स र एपी

स्पेनमा हरेक वर्ष जनवरी १६ का दिन एउटा अनौठो पर्व मनाइन्छ। लस ल्युमेनियस नामको यस पर्वमा आगोमाथि दाैडाएर घोडालाई चोख्याउने अर्थात् पवित्र पार्ने काम गरिन्छ। 

सेन्ट एन्थोनी दिवसको पूर्वसन्ध्यामा आगोको ज्वालाका बीच मानिसहरूले आ-आफ्ना घोडा कुदाउँदै विशेष रूपमा यो पर्व मनाउँछन्। सेन्ट एन्थोनीलाई जनावरका संरक्षक मानिन्छ।

सान बार्टोलोम डे पिनारेस नगरको ग्रामीण भेगमा मनाइने यो पर्व ५०० वर्षदेखि चलिआएको बताइन्छ। यसरी कुदाउँदा घोडाको पुच्छर नजलोस् भनेर अग्नि प्रतिरोधी कपडा र टेपले बेर्छन्।

यसरी आगोमाथि कुदाउनाले वर्षभरि नै घोडाहरू दुःखबाट टाढा रहन्छन् भन्ने मान्यता छ। यस्तै आगो र धुवाँले घोडाको कष्टहरू हटाउने विश्वास गरिन्छ।

मध्यरातसम्म चल्ने यो उत्सव हेर्न बालबालिकादेखि वृद्धवृद्धासम्म उपस्थित हुन्छन्।

पछिल्लो समय भने पशु अधिकारकर्मीहरूले यस पर्वबारे विरोध जनाइरहेका छन्।