सुदूरपश्चिम प्रदेशसभा : युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्न ध्यानाकर्षण

सांसदहरूले प्रदेशमा देखिएका विकृति रोक्न, युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्ने गरी काम गर्न, प्रदेश र प्रदेशवासीको बृहत्तर हितका लागि सामूहिक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएका छन्।

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठकको विशेष समयमा प्रदेशसभा सदस्यले समसामयिक समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले प्रदेशमा देखिएका विकृति विसंगति रोक्न, युवामा देखिन थालेको असन्तुष्टि समयमै सम्बोधन गर्ने गरी काम गर्नुपर्ने, प्रदेश र प्रदेशवासीको बृहत्तर हितका लागि सामूहिक पहलकदमी लिन सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराए।

यस्तै, संसद्का विषयगत समितिको काम कारबाही प्रभावहीन देखिँदा जनतामा निराशा छाएको, हालसम्म पनि प्रदेशको स्थायी राजधानी निर्माणमा सरकार बेवास्ता गरेको, भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने गरी काम नभएका भन्दै सरकारलाई सचेत गराए।

विशेष समयमा सत्तापक्ष नेपाली कांग्रेसका विक्रमसिंह धामी, नेकपा (एमाले) का राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले आफ्नो धारणा राखे। यसैगरी प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामी, नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल, राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र डा ताराप्रशाद जोशीले समसामयिक विषयमा धारणा राखेका थिए।

सभामुख भीमबहादुर भण्डारीले विशेष समयमा उठान भएका जिज्ञासाबारे सात दिनभित्र जवाफ दिन सम्बन्धित मन्त्रीलाई ‘रुलिङ’ गरे।

बैठकमा प्रदेशसभा सदस्य पदमबहादुर शाहीलाई विधायन तथा प्रदेश मामिला समितिबाट सामाजिक विकास समितिमा र कैलाश चौधरीलाई सामाजिक विकास समितिमा रहेर कामकाज गर्ने गरी हेरफेर गरिएको सभामुखबाट प्रस्तुत प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।   

यसैगरी सभामुख भण्डारीले प्रदेशसभाको विशेषाधिकार समिति सदस्यमा मधुदेवी भारती, तुलसी देवकोटा, राजेन्द्रसिंह रावल, मानबहादुर धामी र जानकी ऐर बमलाई मनोनयन गरिएको जानकारी दिए। 

सभामुख भण्डारीले प्रदेशसभाअन्तर्गत विषयगत समितिमध्ये सभापति रिक्त रहेका सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा सभापतिको निर्वाचन सुरु गर्ने गरी कार्यतालिका प्रकाशन गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिए।

प्रदेशसभाको पाँचौँ अधिवेशनअन्तर्गत आइतबारदेखि बैठक शुरू भएको हो।