आर्थिक संकट समाधानबारे समाजवादीद्वारा सरकारलाई २० बुँदे ध्यानाकर्षण

देशमा आर्थिक संकट चुलिँदै गएको भन्दै एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसहितको पार्टी प्रतिनिधि मण्डलले देशको आर्थिक संकट समाधान बारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ।



मंगलबार प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा बसेर अध्यक्ष नेपालसहितको प्रतिनिधि मण्डलले देशको आर्थिक संकट समाधान बारे प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापन पत्र बुझाएको हो। 



प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव विजय पौडेलले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारणले दैनिकजसो आत्महत्या गर्नुपरेका घटना बढिरहेको बताए। 



उनले देशको आर्थिक सङ्कट समाधानका लागि सरकारले तत्काल चाल्नुपर्ने कदम र अपनाउनुपर्ने आर्थिक रणनीतिका बारेमा प्रतिपक्षी दलको हिसाबले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई सुझाव दिएको पनि बताए। उनका अनुसार पार्टीले देशको अर्थतन्त्रमा सुधार ल्याउनको लागि तत्काल अल्पकालीन उपाय अवलम्बन गर्नुका साथै दीर्घकालीन उपायहरू अपनाउन ढिलो गर्ननहुने जनाएको छ। 



त्यस्तै समाजवादीले विधानमा उल्लेखित आर्थिक नीति कडाइका साथ लागू गर्न, युवा विद्यार्थी र बौद्धिक जनशक्ति पलायनका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मका पाठ्यक्रममा १ विषय अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठहरू राख्न, विद्यार्थीहरूको विदेश पलायन रोक्नका लागि देशभित्र विद्यार्थीले पढ्न चाहेको विषयमा पर्याप्त सिट संख्या उपलब्ध गराउन, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि कृषि उत्पादन वृद्धिमा जोड दिनुका साथै कृषि उपज बिक्रीको प्रत्याभूति गर्न आग्रह गरेको छ। 



भेटमा प्रधानमन्त्री दाहालले नेतृत्वदायी टिमले आएर ध्यानाकर्षण गराएकोमा धन्यवाद ज्ञापन गर्दै आफूले यी सुझावलाई गम्भीरतापूर्वक लिने बताउनुभएको पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बताए ।