अध्यादेश ल्याउनकै लागि संसद् अधिवेशन अन्त्य गर्न हुँदैन : सुवास नेम्वाङ

एमाले उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरेर अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने बताएका छन्।

काठमाडौँ– नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउन जानाजानी संसद् अधिवेशन अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन्। 

लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने उनको तर्क छ। विगतका सरकारले संसद्मा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष छ। 

सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे। "मेरो बुझाइमा एउटा 'डेमोक्रेटिक गोभरमेन्ट'ले भरसक अध्यादेशमा जान नपरोस् भन्ने सोच राख्न पर्दछ", उनले भने। 

उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटक-पटक दोहोर्‍याए। संसद्लाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने उनले औँल्याए। 

उपाध्यक्ष नेम्वाङले संविधानमा त्रुटि देखाएर गल्ती गर्ने काम सरकारले नगर्न नमिल्ने पनि बताए। भारतीय संविधान निर्माता अम्बेडकरको भनाइ उद्धृत गर्दै उनले गल्ती, कमीकमजोरी आफूमा राखेर संविधानमा त्रुटि देखाउने काम सरकारले गर्न नहुने उल्लेख गरे।