आगामी आर्थिक वर्षको बजेटअगावै मल खरिद गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटअगावै मल खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटबाट भुक्तानी गर्नेगरी त्यसअगाडि नै मल खरिद गर्ने तयारी थालेको छ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधिको प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकपछि मन्त्रालयका प्रवक्तासमेत रहेका सह–सचिव प्रकाशकुमार सन्जेलले मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन्। 

उनले आगामी आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन हुने बजेटबाट चालु आर्थिक वर्षमै खरिद प्रक्रिया शुरू गर्न सहमति प्राप्त भई खरिद प्रक्रियाको तयारी गरिएको बताए। 

त्यस्तै, मन्त्रालयले चालु आर्थिक वर्षको बजेटबाट आगामी वर्षको लागि मल खरिद गर्ने अवस्था समेत फेर्ने प्रयास गरेको बताएको छ। चालु आर्थिक वर्षमै आवश्यकता अनुसार मल खरिदको लागि बजेट अपुग हुने हुनाले पनि‍ यो प्रवृत्ति अन्त्य गर्नुपर्ने मल आयातकर्ता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडको राय छ। 

कृषि सामग्री कम्पनी, खरिद महाशाखाका प्रमुख राजेन्द्रबहादुर कार्कीले अन्तर्राष्ट्रिय मल बजारमा मलको भाउअनुसार चाहिने बजेट अपुग रहँदै आएको बताउँछन्। अब भने यसमा सुधार हुने देखिएको उनले बताए। 

कार्कीले अब खरिद प्रक्रिया अगाडि बढाउन कम्पनी नेतृत्वको तदारुकता देखियो भने आगामी सिजनमा किसानलाई बेलैमा मल आपूर्ति गर्न सक्ने बताउँछन्।  

त्यस्तै, मन्त्रालयको चालु आर्थिक वर्ष २०७९/०८० अर्धवार्षिक प्रगति विवरणअनुसार हालसम्म  ३ लाख २९ हजार मेट्रिक टन मल खरिद तथा व्यवस्थापन भएको देखिन्छ। चालु आर्थिक वर्षमा अहिलेसम्म १ लाख ६० हजार मेट्रिक टन मल आयात भएको तथा १ लाख ४४ हजार मेट्रिक टन बिक्री वितरण समेत भइसकेको मन्त्रालयले जनाएको छ। 

त्यस्तै, १ लाख ५९ हजार मेट्रिक टन मल प्राप्त हुने प्रक्रियामा रहेको मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ। चालु आर्थिक वर्षको शुरूमा अर्थ मन्त्रालयले १५ अर्ब रुपैयाँ मल खरिदको लागि विनियोजन गरेकोमा यसमध्ये १२ अर्ब ७५ करोड रुपैयाँ खर्च भइससकेको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ। 

मन्त्रालयले अर्थ मन्त्रालयसँग चालु आर्थिक वर्षको लागि थप १६ अर्ब रुपैयाँ मल खरिदको लागि थप स्रोत सुनिश्चितता लिएको जनाएको छ।

यसरी चालु आर्थिक वर्षमा मल खरिदको अर्थमन्त्रालयबाट प्राप्त हुने कुल ३१ अर्ब रुपैयाँको मल खरिद हुने देखिएको छ। यसमध्ये ७० प्रतिशत मल कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङ्ग कर्पोरेसनमार्फत आपूर्ति हुनेछ। 

आपूर्तिकर्ता संस्थाहरूले प्राप्त जिम्मेवारी पूरा गरेमा आगामी समयमा मलको अभावको समस्या न्यून हुने प्रवक्ता सन्जेल बताउँछन्। 

सरकारको बजेटको अर्धवार्षिक समीक्षामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले किसानलाई चाहिने मलको लागि बजेट अभाव नहुने बताएका थिए। खरिद प्रक्रियामा हुने ढिलासुस्ती बारे भने मन्त्रालयको अर्धवार्षिक समीक्षामा केही उल्लेख छैन।