…तर पनि हामी महिलाहरूको राजनीति जारी रहनेछ

समाजमा 'नेता'को एक प्रकारको चरित्र बनिसकेकाले, महिला राजनीतिज्ञ पनि पुरुषझैँ मिडियामा फोस्रा गफ दिने, चिच्याएर तथानाम बोल्ने खालको हुनुपर्छ भन्ने अपेक्षा नेपाली समाजले राख्छ जस्तो लाग्छ।

जब 'विवेकशील नेपाली'का मिलन पाण्डेलगायत दुई तिहाइ साथीहरू २०७७ मंसिर २४ मा दोस्रोपटक 'विवेकशील साझा'मा जानुभयो, हामी बाँकी साथीहरू उहाँहरूको निर्णय गलत हो भन्दै दोस्रोपटक बनेको  विवेकशील साझामा गएनौँ। त्यसलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संसद् विघटन गरे र हामी त्यसविरुद्ध माइतीघर मण्डल पुग्यौँ। महिना दिनभन्दा बढी लगातार गैरसंवैधानिक कदमको विरोधमा उत्रियौँ। 'लोकतन्त्र बचाउनु पर्छ, संविधानको रक्षा गर्नुपर्छ' भन्ने हाम्रो बुझाइ थियो। यसरी हामी एक तिहाइ सोही आन्दोलनमार्फत एकीकृत हुँदै गयौँ। विवेकशील पार्टी भन्ने नाम राख्यौँ। दस्ताबेज र अजेन्डाहरूमा घनिभूत छलफल चलायौँ। भक्तपुरको तेलकोटकोमा २०७७ फागुन ७-९ गते बसेको विस्तारित बैठकले मेरो नेतृत्वमा संगठन अघि बढाउने निर्णय गर्‍यो

आवश्यकताले जन्माएको जिम्मेवारी थियो त्यो मेरो लागि। नेपालमा एउटा सच्चा सुसंस्कृत, समावेशी र लोकतान्त्रिक राजनीतिक दल हुनुपर्छ भन्ने मान्यता लिएर म विवेकशील नेपाली दलमा स्थापना काल (२०६९) देखि नै आबद्ध थिएँ। विभिन्न तहमा नेतृत्व गरेकी थिएँ। सयौँ व्यक्तिहरूको योगदान, हजारौँ युवाको आशा त्यत्तिकै खेर जान दिनु हुँदैन भन्ने भावनाले मैले तेलकोट बैठकबाट संगठनको नेतृत्व लिएँ। 'विवेकशील अभियान' र 'र्‍याडिकल सेन्ट्रिजम् विचारधारा'लाई जोगाउनु पर्छ भन्ने मेरो धेय थियो। पहिले त हामीले केही समय भूमिगत भएर काम गर्ने योजना बनाएका थियौँ, तर अर्कोतर्फ विवेकशील साझामा वैचारिक र सांगठनिक समस्या आएपछि हामीले विवेकशीलको विरासत जोगाउनुपर्छ भनेर २०७८ कात्तिक ३० गते निर्वाचन आयोगमा 'नेपाल विवेकशील पार्टी' दर्ता गराउन पुग्यौँ। यसरी नेपाली इतिहासमा पार्टी संगठनका अध्यक्षका रूपमा म तेस्रो महिला बन्न पुगेँ। मलाई थाहा भएसम्म त्यति खेरसम्म साहना प्रधान र पम्फा भुसाल अध्यक्ष बनेर पार्टी हाँकिसकेको इतिहास रचेका थिए।

राजनीति त्यसै पनि सहज कुरा होइन, नेपालमा त हुँदै होइन। झन् महिला भएर काम गर्नु असाध्यै गाह्रो छ। हामी महिलाहरूले तीन तहमा लड्नु पर्छ: पारिवारिक, सामाजिक र बौद्धिक। सबैभन्दा पहिले परिवार, बाबुआमा र श्रीमान‍्को साथ रहेन भने केही गर्न सकिन्न। सन्तान जन्मेपछि बच्चा हुर्काउने र 'घर हेर्ने' जिम्मेवारीले गर्दा पनि अधिकांश महिला चाहेर पनि राजनीतिमा सक्रिय रहन सक्दैनन्। परिवारले साथ दिए पनि महिलाका लागि समाज क्रूर छ। समाजमा 'नेता'को एक प्रकारको चरित्र बनिसकेकोले, महिला राजनीतिज्ञ पनि पुरुषझैँ मिडियामा फोस्रा गफ दिने, चिच्याएर तथानाम बोल्ने खालको हुनुपर्छ भन्ने अपेक्षा नेपाली समाजले राख्छ जस्तो लाग्छ। सम्बन्धित विषयको ज्ञान, गहिरो अध्ययन र अनुभवभन्दा पनि मिडियामा कति धेरै अनुहार आएको छ भन्ने विषय नै नेतृत्वको योग्यता बनेझैँ लाग्छ। महिलाका हकमा, एक्लै हिँड्दा झेल्नु पर्ने सुरक्षा त्रासदेखि लिएर आर्थिक स्वतन्त्रताको चुनौतीको व्यवस्थापनका कुरा छँदै छन्। 

पितृसत्तात्मक सोच र कथित राष्ट्रवादले डरलाग्दो गरी जरा गाडेको समाजमा 'निर्धक्क नेता' बन्न साँच्चै कठिन छ। एउटा उदाहरण दिन चाहेँ। गएको चुनावमा प्राविधिक कारणले मैले उम्मेदवारी दिन मिलेन। संविधानअनुसार चुनावमा उठ्न विदेशी आवासीय अनुमतिपत्र फिर्ता दिएको तीन महिना नाघ्नुपर्ने रहेछ। मसँग उतिखेर जर्मनीको स्थायी आवासीय अनुमतिपत्र (पीआर) थियो। दर्ता प्रक्रिया अलि छिटो भएकोले चार दिनले गर्दा मैले उम्मेदवारी दिन मिलेन। जर्मनीको पीआरकै विषयलाई लिएर पार्टीभित्रकै केही साथीहरूले मेरो विरोध गरे। तर अहिले देख्दै छु, रवि लामिछानेसँग नेपाली नागरिकता नहुँदा पनि तिनै व्यक्तिहरू रविको पक्षमा लागेका छन् या कतिपय मौन बसेका छन्। हाम्रा कतिपय साथीहरूलाई पीआर (आवासीय प्रमाणपत्र)  र नागरिकता फरक हुन् भन्नेसमेत थाहा रहेनछ। यसरी हामीले अनेक विषयमा बारम्बार लड्नुपर्छ। महिलाहरूले 'हामी बौद्धिक रूपमा पनि सक्षम छौँ' भनेर धेरै पटक प्रमाणित गरिरहनु पर्छ।

विवेकशीलको एक दशक दौडानमा मैले धेरै दस्ताबेजमा काम गरेँ, हरेक पटक विधान लेखनमा उल्लेख्य योगदान गरेँ। तर यस्तो धेरै पटक भएको छ कि मैले भनेको कुरा पत्याइँदैन। त्यही कुरा अर्को पुरुषलाई गएर सोधिन्छ। मैले भनेकै कुरा पुरुषले दोहोर्‍याउँदा भने त्यसलाई विश्वास गरिन्छ। दुर्भाग्यवश, प्राय: महिलाले नै महिलालाई विश्वास गर्दैनन्। पितृसत्तात्मक सोच कसरी महिलामा समेत गहिरोसँग गढेर बसेको छ भन्ने त्यसबाट थाहा हुन्छ। अर्को रोचक किस्सा, मैले एक पुरुष सहकर्मीलाई 'हामीले यो–यो काम यसरी गर्नु पर्छ' भनेँ। उनले भने 'हो, नीति-कार्यविधि बनाएर नै निर्णय लिनुपर्छ' भन्दै मलाई धेरै पटक सिकाउने प्रयास गरे। तर उनलाई त्यस विषयबारे पार्टीभित्र त्यो दस्ताबेजसमेत बनिसकेको छ भन्ने थाहा रहेनछ। उनले त्यो दस्ताबेज पढेकै रहेनछन्। जबकि त्यो दस्ताबेजमा मैले नै योगदान गरेको थिएँ। 

यी तमाम संघर्षहरूका बाबजुद नेपालको राजनीतिमा महिलाहरूले सक्रिय भएर काम गर्न छाडेका छैनन्। मेरो समयअघिका महिला राजनीतिक र सामाजिक योद्धाहरूप्रति म नतमस्तक छु। गएको संघीय चुनावमा रन्जिता श्रेष्ठको नेतृत्वको नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय राजनीतिमा संस्थागत हुन सफल भएको छ। संसद्मा आशालाग्दा अनुहारसमेत उदाएका छन्। महिलाको संख्या घटे पनि स्थानीय तहमा परिणाम उत्साहपूर्ण रहेको छ। हालसालै विवेकशील साझामा पुराना सहकर्मीहरू समीक्षा बाँस्कोटा र रञ्जु दर्शना क्रमशः अध्यक्ष र पार्टी महासचिव बन्न पुगेका छन्। खुशी लागेको छ। 

तर माथि उल्लेखित चुनौतीबाहेक अहिलेको परिदृश्यमा राजनीतिमा थप जोखिम पनि थपिएको छ: पपुलिजम् (लोक  रिझ्याइँवाद)। पपुलिजम ल्याटिन शब्द 'populus' बाट आएको हो, जसको अर्थ 'जनता' भन्न मिल्छ। राजनीतिमा पपुलिजमले कुनै एक धर्म/पेसा/समुदाय/देशलाई प्रधान शत्रु करार गरेर, आफू जनताको साथी भएको अभिनय गर्छ। राष्ट्रवादजस्ता विषय उठाएर, डर देखाएर, आफू र जनता पीडित भएको देखाउँछ। समाजमा चरम विभाजन ल्याउँछ। पपुलिजमले एकै छिनमा उचाल्छ र फेरि पछार्छ। जग नभएकोले छिट्टै भासिन्छ। यसको फाइदा पपुलिस्ट र उसको आसे पासेलाई बाहेक कसैलाई हुँदैन।

यद्यपि, संगठन र पार्टी निर्माण भनेको बच्चा हुर्काउनु बराबर हो। निरन्तर त्याग, धेरै समय, तपस्या र निरन्तरता चाहिन्छ। विभिन्न क्षमता भएका व्यक्तिहरू मिलेर धेरै वर्ष सँगै काम गर्न सक्नुपर्छ। यो धैर्यता नयाँ निर्मित दल र नेताहरूमा विरलै देखिन्छ। ठाउँमा पुग्नु ठूलो कुरा होइन। नेपाली जनताले सधैँ नयाँलाई मौका दिएका छन्। ठाउँमा पुगेर प्रभावकारी रूपमा काम गर्न योग्यता मात्रै भएर पुग्दैन; दूरदर्शिता, समय र धैर्यता पनि चाहिन्छ। महिला होस् या पुरुष, अथवा एलजिबिटिक्यु, पार्टी अध्यक्ष आफू स्वयम् वैचारिक रूपमा स्पष्ट त हुन पर्‍यो नै, नीतिगत प्रष्टता र सांगठनिक व्यवस्थापन गर्न सक्ने क्षमता पनि अपरिहार्य छ। यसबाहेक, पार्टीभित्रका केही व्यक्तिहरूले पूर्णकालीन समय दिन सके मात्रै पार्टीले गति लिन सक्छ।

साक्षरता दर र बौद्धिकस्तरको कमीले गर्दा नेपाली समाज अझै पनि लोकतन्त्रको लागि पूर्णरूपमा तयार भइसकेको छैन। राजनीति गर्नु भनेको समाजको ठूलो तप्कालाई सम्झाउनु /बुझाउनु सक्नु हो। दीर्घकालीन योजना बनाएर उचित दिशानिर्देश दिन सक्नु हो। यसको निम्ति जो कोही नेतृत्वले आफू इमानदार हुनुका साथै आफ्नो पार्टीलाई सांगठनिक/नीतिगत भ्रष्टाचारको दलदलमा फस्नबाट जोगाउन सक्नुपर्छ। त्यसो हुँदाहुँदै पनि महिला भएर पार्टी हाँक्नुचाहिँ दोब्बर कठिन छ। 'महिला राष्ट्रपति भएर के भयो र?' भन्ने प्रश्नहरू सुन्दै गर्नुपर्दा 'महिला अध्यक्ष भएर के भयो र?' भन्ने प्रश्न पक्कै सुन्नुपर्ने हुन्छ। तर हामी सबैलाई थाहा छ 'पुरुष अध्यक्ष भएर के भयो र?' भन्ने प्रश्न कहिल्यै उठ्नेछैन। तैपनि हामी महिलाहरूको राजनीतिक यात्रा जारी रहनेछ।


विवेकशील नेपाली दलकी पूर्वअध्यक्ष तामाङ 'युनिभर्सिटी अफ बर्मिङघम', बेलायतमा राजनीति शास्त्रमा विद्यावारिधि गर्दैछिन्।