आजका रियलिटी सोजस्तै नाचगान र सांस्कृतिक कार्यक्रमको अनौपचारिक शुरूआत सदियौँ पहिले हाम्रा समुदायले गरेका हुन्।
सानो छँदा ‘आज बालुवा बिक्री भयो भने मात्रै भरे पेटभरि खान पाइएला’ भनेर सुर्ता गर्ने सीता बादीको दैनिकी आज फरक छ। सुर्खेत नयाँ गाउँमा जन्मेर त्यहीँको झुप्राखोलामा बालुवा संकलन गर्दै हुर्किएकी सीता अचेल आफ्नै व्यवसाय गर्छिन्। काठमाडौँको बुढानीलकण्ठ, चुनिखेलमा हस्तकलाका सामग्री उत्पादन तथा बिक्रीवितरणमा संलग्न उनी व्यवसाय बढ्दै गए भोलिका दिनमा अन्य महिलालाई पनि रोजगारी दिलाउने सपना देख्छिन्। प्रेरणादायी महिला शृंखलाअन्तर्गत सीतासँग किशु कुइँकेल र रञ्जु दर्शनाले गरेको कुराकानी:
तपाईंलाई आफ्नो बाल्यकाल सम्झाउने सबैभन्दा रमाइलो क्षण कुन हो?
अहिले पनि याद आउने रमाइलो बाल्यकालीन क्षणमध्ये बालुवा खानीमा काम गर्दाको हो। हामी सपरिवार बालुवा संकलन गर्ने र छान्ने काम गर्थ्यौं। झुप्राखोला किनारमा बालुवा जम्मा पारेर बालुवा किन्न आउने ट्याक्टरवालाहरूलाई बेचेर गुजारा चलाउँथ्यौँ। ट्याक्टरवालाहरूलाई हामी दौडी-दौडी 'मेरो बालुवा किनिदिनुस् न! मेरो बालुवा किनिदिनुस् न!' भन्दै चिच्याउँदै आफ्नो बालुवाको थुप्रोतर्फ लैजान्थ्यौँ। आफ्नो बालुवा बेच्न सके मात्र बेलुका घरमा मिठो मसिनो खान पाइन्छ भन्ने सानैदेखि हामीलाई थाहा थियो। मजस्तै धेरै बादी समुदायका बालबच्चाहरू बालुवा खानीको बालुवा र पानी खेलेर हुर्किन्छन्। पानी, बालुवा, ढुंगा र माटो नै उनीहरूको खेलौना हो।
हुर्कँदै गएपछि समाजले आफ्नो समुदायमाथि अर्घेल्याइँपूर्ण व्यवहार गर्दो रहेछ भन्ने थाहा पाउनुभयो होला, कस्तो लाग्यो?
मलाई ठूलो हुँदासम्म पनि बादी समुदायलाई अन्य समुदायले हेर्ने 'नजर'बारे थाहा थिएन, तर आफ्नो समुदायमाथि समाजको गलत बुझ्दै जाँदा दुःख लाग्यो। बादी समुदाय भन्नेबित्तिकै आममानिसको दिमागमा यस समुदायका महिलाहरू यौन पेसा अँगाल्छन् भन्ने धारणा रहेछ। विगतमा हाम्रा समुदायका केही महिलाले गरिबीका कारण विवश भई यौन पेसा अपनाए होलान्, तर यौन पेसा नै हाम्रो समुदायको परिचय होइन। जसरी आजका दिनमा टेलिभिजनहरूमा 'नेपाल आइडल', 'डान्सिङ् स्टार'जस्ता अनेकौँ ‘रियालिटी सो’लगायत मनोरञ्जनात्मक कार्यक्रम हुन्छन्, त्यस्तै खालका नाचगान र सांस्कृतिक कार्यक्रमको अनौपचारिक शुरूआत सदियौँ पहिले हाम्रै समुदायले गरेका हुन्। त्यसो हुँदा, बादी समुदाय त यो देशको पहिलो संगीतकार, वाद्यवादक र कलाकारकर्मीको समूह हो भन्ने लाग्छ।
बादी समुदायका महिला यौन पेसामा संलग्न हुन्छन् भन्ने धारणा के कारणले विकसित भएर फैलिएको होला?
हेर्नुस्, खस–आर्यभित्रकै एक समुदाय हो बादी। दलितभित्रको पनि दलित र अति विपन्न समुदायमा पर्छ यो। यसभित्रको गरिबी, पछौटेपन र गाँस, बास र कपासको सकस त अहिले पनि देख्न सकिन्छ। कतिपय गैरसरकारी संस्थाहरूले बादी समुदायका कतिपय पात्रका कथाव्यथा फैलाएर उनीहरूलाई केही हदसम्म सहयोग र न्याय पनि गरे, तर नेपालका बादी समुदाय 'महिलालाई यौन पेसामा संलग्न गराउने समुदाय' भन्ने कुरा संसारभर स्थापना गरिदिए। त्यो बिलकुलै गलत भयो। पछि सर्वत्र त्यही कुरा फैलियो।
तपाईंको थर बादी भएकै कारण मानिसले तपाईंप्रति फरक व्यवहार गरेको पाउनु भएको छ?
आम्मै...कति छ कति! मेरो थर बादी भएकैले जीवनमा अनेकौँपटक अवहेलना, बेइज्जती र हिंसाको सामना गर्नुपरेको छ। अरू बेला राम्ररी बोल्ने साथीसमेत मेरो थर बादी भएको थाहा पाएपछि मबाट तर्किएका घटना छन्। एकपटक क्याम्पसको परीक्षाको सिलसिलामा बाहिरी क्याम्पसका प्राध्यापक आएर प्रयोगात्मक परीक्षाका लागि अन्तर्वार्ता लिइरहेका थिए। परीक्षासँग सम्बन्धित सबै सामग्री पढेर जाँचका लागि म तयार थिएँ, तर परीक्षा लिने बेला ती प्राध्यापकले मेरो थर ख्याल गरेछन् क्यार, उनले मलाई विषयवस्तुबारे कुनै प्रश्न नै सोधेनन्। बरू, 'तिमीले चिनेको क-कसले अहिले यौन व्यवसाय गर्छन्?' जस्ता असम्बन्धित प्रश्न सोधे। उनले मलाई त्यस्ता प्रश्न सोध्दै गर्दा मसँगै रहेको साथीले मेरो अनुहार एक टकले हेरिरहेको थियो। म भने रिस र अन्योलले रातोपिरो भएँ।
झुप्राखोलाको बालुवा खानीदेखि काठमाडौँसम्मको तपाईंको यात्राबारे केही भनिदिनुस् न!
मेरो बा आमाको आर्थिक स्थिति एकदम नाजुक थियो। उहाँहरू दुवै जना बालुवा जम्मा गर्ने काम गर्नुहुन्थ्यो। किनभने, खेतीबाली र रोपाइँ गर्न आफ्नो बारी थिएन। पुँजीको अभावमा व्यापार व्यवसाय गर्न सम्भव पनि भएन। हामीलाई बाआमाले सरकारी स्कुलमै पढाउन पनि सहज थिएन। त्यसैले 'लाइट हार्ट' नामक गैरसरकारी संस्थाको सहयोगमा आजभन्दा डेढ दशकअघि, १२/१३ वर्षको उमेरमा पढ्नका लागि म घरपरिवार छाडेर काठमाडौँ आएँ।
मलगायत केही साथीहरूलाई उक्त संस्थाले पढ्ने व्यवस्था मिलाइदियो। हामी पहिला त्यही संस्थामै बस्थ्यौँ। १० कक्षा सकेपछि मैले सो संस्थाको कार्यालयमै काम शुरू गरेँ। स्नातकको पढाइ सकेपछि भने म आफैँ बाहिरका कामहरूसमेत गर्दै स्वतन्त्ररूपमा बस्न थालेँ। संस्थाले हामीलाई दिएको साथप्रति सधैँ कृतज्ञ छु। किनभने, मैले शिक्षाको ज्योति नपाएको भए सायद मेरो जिन्दगी मरुभूमि जस्तै पो हुन्थ्यो कि?
तपाईंले सानै उमेरदेखि काम गर्नुभयो। अहिले त आफैँ व्यवसायमा संलग्न हुनुहुन्छ, आफ्नो व्यावसायिक अनुभव पनि बताउनुहोस् न।
म अहिले 'बादी सस्टेन मल्टिपर्पोज' नामक हस्तकला व्यवसायमा संलग्न छु। जसमा अहिले मलगायत पाँचजना कार्यरत छौँ। यहाँ हामीले माला, पोतेलगायत हस्तकलाका सामान बनाउँछौँ र तिनलाई विदेशमा समेत पठाउँछौँ। यो व्यवसाय मैले केबल १२ सय रुपैयाँको लगानीबाट चार वर्षअघि शुरू गरेकी हुँ। अहिले व्यापार राम्रै भइरहेको छ। व्यवसायबाट हुने नाफाबाटै बादी समुदायका केही बालबालिकालाई पढ्न मद्दत गर्दै आएको छु। पहिले कोभिड महामारीताका व्यवसाय गर्न अप्ठ्यारो भएको थियो, अहिले सहज हुँदैछ।
बादी समुदायको अधिकार र आत्मसम्मानका लागि पश्चिम नेपालबाट काठमाडौँसम्म आएर महिलाहरूले २०६४ सालमा प्रदर्शनसमेत गरेका थिए। सरकारले बादी समुदायको हित र सहयोगका लागि विशेष कार्यक्रमहरू लिएर आएको छजस्तो लाग्छ?
उत्पीडनमा परेका समुदायका लागि गर्नुपर्ने नै सरकारले हो। तर, सरकारले हाम्रो चासोलाई सम्बोधन गरेजस्तो लाग्दैन। सरकारले उत्पीडनमा परेका हाम्रो समुदायका आधारभूत आवश्यकता गाँस, बास र कपासको सुनिश्चितता गरिदिए हुन्थ्यो। त्यसपछि 'एक घर एक रोजगार'जस्तै कुनै कार्यक्रम ल्याइदिए हुन्थ्यो। भोको मानिसलाई माछा खान दिएर मात्र हुँदैन, माछा पाल्न सिकाउनुपर्छ भन्ने मैले ठान्छु।
अब सपनाको कुरा गरौँ, तपाईंका सपना के छन् जीवनमा?
मेरा सपना धेरै छन्, तर सबैभन्दा ठूलो सपनाचाहिँ सबै मान्छेले आत्मसम्मानपूर्वक जिउन पाऊन् भन्ने हो। अहिलेको यही व्यवसायलाई थप विकास गर्दै बादी समुदायका व्यक्तिलाई रोजगारीमूलक तालिम दिलाउन सकूँ, जसले उनीहरूले आफ्ना बच्चाहरू पढाउनकै लागि कुनै संस्थामा पठाउन नपरोस्। आफ्नै क्षमता र सिपद्वारा परिवार धान्न सकून्। आफ्नो मौलिक संस्कार, संस्कृति सम्मानपूर्वक मनाउन सकून्। मेरो मुख्य सपना यही हो।
('इन्स्पाइरिङ उमन टु वाच्' नामक एक सामुदायिक प्रयासअन्तर्गत किशु कुइँकेल र विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले लिएको प्रस्तुत अन्तर्वार्ता मिडिया पार्टनरका रूपमा उकालोले प्रकाशन गरेको हो। यसअन्तर्गत आगामी दिनमा अन्य प्रेरणादायी नेपाली महिलाका कथा प्रकाशन गर्दै जानेछौँ। - सम्पादक)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
