एउटा सामान्य हिसाब गरौँ– नेपाली श्रीमती/आमाहरूले 'पारिश्रमिक नमिल्ने' घरको काममा दैनिक कति घण्टा खटिनुपर्छ? त्यही काममा कति प्रतिशत पुरुष सहभागी हुन्छन्?
नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी दुई कार्यकाल सकेर बिदा हुने तरखरमा हुँदै गर्दा राष्ट्रपतिमा कुनै बेला नेपालमा सभामुख, प्रधानन्यायाधीश र राष्ट्रपतिसहित राज्यका तीन मुख्य पदमा महिला भएको अनुपम संयोगको स्मरण भइरहेको छ। भण्डारीको कार्यकाल कस्तो रह्यो भन्नेबारे अनेकौँ कोणबाट पर्याप्त विश्लेषण भइरहेका छन् र हुनेछन्। यति नै खेर नेपालको ७० वर्षभन्दा लामो प्रजातान्त्रिक संघर्षमा महिलाहरूको योगदानबारे स्मरण र विश्लेषण जरुरी छ। गत मंसिरमा भएको संघीय संसदीय निर्वाचनको प्रत्यक्षतर्फको परिणाम लैंगिक हिसाबले कस्तो रह्यो भन्ने ग्राफ प्रस्तुत छ, जसले समताको संघर्ष अझै बाँकी छ भन्ने पर्याप्त संकेत गर्छ।
नेपालको उपयोग हुन नसकेको सबभन्दा ठूलो स्रोत के हो भन्ने प्रश्नमा धेरैले जलस्रोत या जैविक र भौगोलिक विविधता भन्लान्, तर मेरो बुझाइमा हामीले उपयोग गर्न नसकेको सबैभन्दा ठूलो स्रोत नेपाली महिलाहरूको क्षमता पनि हो। नेपालको उत्पादकत्व बढाउने हो भने महिला क्षमताको सशक्त उपयोग गर्न ढिलो भइसकेको छ।
राष्ट्रपति भण्डारीले कुनै अन्तर्वार्तामा 'महिलाको क्रियाशील समय ४० वर्षदेखि ७० सम्म' भन्नु भएको रहेछ। अहिलेको अवस्था हेर्दा त्यो सत्य हो, तर अनेकौँ जिम्मेवारीबाट थकित महिलाले ४० वर्षपछि मात्र शुरू गर्ने क्रियाशीलताको समयलाई किन १५-२० वर्ष अगाडि नै नसार्ने? एउटा महिलाको जीवनमा १५ वर्ष क्रियाशीलताको थप गर्न सक्दा अन्ततः त्यो राष्ट्रकै लागि उत्पादक हुनेछ। खेर गएको ऊर्जाशील समयबारे संवेदनशील हुन र महिलाहरूको उत्पादकत्व बढाउने विषय समग्र देश विकास, समृद्धि र समताका लागि साँच्चै आवश्यक छ।
समानुपातिक प्रतिनिधित्वलाई बाध्यात्मक मान्ने हो भने प्रत्यक्ष निर्वाचित महिला जनप्रतिनिधिको संख्या नगण्य छ। अहिलेकै मनोविज्ञान र अवस्था कायम रहँदा नेपाली राजनीतिमा लैंगिक समता स्थापित हुन लामो समय लाग्नेछ। अहिलेसम्म मुख्य पार्टीको नेतृत्व पुरुषहरूले नै गरेबाट हाम्रो जीवनकालमा मात्रै होइन, छोराछोरी पुस्तासम्म पनि त्यो नहोला झैँ देखिन्छ। यस्तो अवस्थामा सचेत, जागरूक र शिक्षित वर्गले समताका लागि गुणात्मक फट्को मार्ने गरी हस्तक्षेप गर्न आवश्यक छ। त्यो पुस्ता भनेकै नवपुस्ता हो। थप १५ वर्ष क्रियाशीलता थप्न पनि नव पुस्ताका किशोरी र युवती लाग्नुपर्छ, किनकि यस युगमा विभेद अस्वीकार्य छ। यसका लागि महिलाहरूले चलेका कतिपय नाजायज संस्कार तोड्ने मात्रै होइन, आफ्ना महत्त्वाकांक्षालाई आफ्नै सामर्थ्यमा जबरजस्त अगाडि बढाउने हिम्मत गर्नुपर्छ।
कडा हुनु, रवाफिलो देखिनु, सुनिनु नै नेतृत्वको परम्परागत विम्बका रूपमा समाजमा स्थापित छ। र, अहिलेसम्म त नेता भनेकै पुरुष हुन् भन्ने मान्यताले समाजमा जरा गाडेको छ। जबकि, नरम हुनु, कम बोल्नु, मिजासिलो हुनुचाहिँ महिलाका आदर्श गुणका रूपमा बुझिन्छन्। महिलाले के गर्न हुने र के गर्न नहुने भन्ने रूढीग्रस्त मानक र विम्बहरू स्थापित छन्। यी सबै मनोविज्ञान झेल्दै नेपालका मात्रै होइन, विश्वभरकै महिलाले राजनीतिक यात्रा गर्नुपर्ने बाध्यता छ। राजनीतिमा विश्वभर नै पुरुषको दबदबा हुँदै गर्दा राजनीतिमा संलग्न महिलाले अनेक संवेदनशील टिप्पणी झेल्दै आएका छन्। अमेरिकी राजनीतिज्ञ हिलारी क्लिन्टन सन् २०१६ मा अमेरिकाको राष्ट्रपतिको उम्मेदवार हुँदा पुरुषवादी समाजले रचेका यस्तै भाष्यहरूका निशानामा परेकी थिइन्।
लाखौँ वर्षयता विकसित हुँदै आएका सोच र मनोविज्ञान एकाएक परिवर्तन हुँदैनन्। ती हाम्रा नियन्त्रणमा पनि हुँदैनन्, तर आफूले लिने सार्वजनिक धारणामा समेत महिला स्वयंले व्यापक अध्ययन र आलोचनात्मक दृष्टिकोण विकास गर्नुपर्छ।
भनिन्छ, राजनीतिमा पारिवारिक जीवन र सार्वजनिक जीवनबीचको सन्तुलन महत्त्वपूर्ण हुने गर्छ। जीवनसाथीसँगको सम्बन्ध व्यवस्थापन, बालबच्चाको रेखदेखमा सहकार्य महत्त्वपूर्ण हुन्छ। तर यस क्रममा सन्तान र परिवारको रेखदेख महिलाकै हो भन्ने बुझाइ छ। भान्छा कोठा, बालबच्चा र बुढापाका मात्र नभएर आफन्तको मान-सम्मानमा समेत महिलाकै भूमिका खोजिने हुँदा महिलाका लागि राजनीतिजस्तो सार्वजनिक सेवा कठिन साध्य बन्न पुग्छ। यस्तो अवस्थामा दाम्पत्य र पारिवारिक जीवन जोगाएर राजनीतिमा सक्रिय हुन कठिन छ।
राजनीति गर्ने अधिकांश पुरुषलाई पारिवारिक र आर्थिक जिम्मेवारीबाट पन्छने तथा अबेला घर फर्कनेदेखि हप्तौँ घरबाट हराउने सुविधा हुन्छ, तर महिलाले बिरलै त्यो छुट र सहयोग पाउँछन्। यसमा पनि अब बदलाव ल्याउनुपर्छ, ताकि हाम्रा पुरुष सहकर्मी राजनीतिज्ञले पनि 'छोरी विद्यालयबाट फर्किने बेला भयो' भनेर साढे चार बजे आफ्ना काम सकाएर घर फर्कून्। बिहे गर्नु या नगर्नु, आमा बन्नु या नहुनु व्यक्तिगत रोजाई हो, तर नेतृत्वमा जाने महत्त्वाकांक्षा राख्दैमा यी भूमिकाबाट भाग्नु पर्ने अवस्था महिलाको हकमा मात्रै सिर्जना हुनु जायज होइन। संयोग भनौँ, नेपालको परिप्रेक्ष्यमा अधिकांश महिला नेतृत्व एकल या अविवाहित छन्।
राजनीति होस् या अन्य क्षेत्र, जति तह बढ्दै जान्छ, उति नै प्रतिस्पर्धा बढ्ने गर्छ। त्यो प्रतिस्पर्धा कहिले पुरुषसँग त कहिले महिलासँग, कहिले महिला वा पुरुष दुवैसँग गर्नुपर्ने हुन्छ। हाम्रो राजनीतिमा समानुपातिक प्रतिनिधित्वको नाममा महिला महिलाबीच नै भिडाइदिने अवस्था धेरै देखिन्छ। यसै त क्षमतावान् महिला नेतृत्व सीमित मात्रामा छन्, आपसमा भिडन्त हुन थालेपछि महिला प्रतिनिधित्व कम हुने गरेको छ।
राजनीति होस् या अन्य क्षेत्र, काम गर्दै जाँदा गल्ती हुनसक्छ। गल्ती कसैबाट अपेक्षित विषय होइन, तर उस्तै खालका गल्ती-कमजोरीमा पुरुषभन्दा बढी पीडित हुनु पर्ने अवस्था छ। महिलाले गल्ती गरे अत्यन्त भद्दा र तुच्छ टिप्पणी गरिने गरेको छ। टेलिभिजनका 'टक सो'मा समेत 'यौनिक हिंसा' देखिने गरेको छ। एउटा कुनै टिभी/युट्युब च्यानलमा निर्वाचित महिला संसद्लाई 'प्रेम असफल भएर राजनीतिमा आउनु भइएको हो?' समेत भनेर सोधेको पाइयो।
यद्यपि यी र यस्तै खाले प्रश्न पुरुष सांसदहरूलाई कहिल्यै गरेको हामीले सुनेका छैनौँ। हाम्रो स्त्रीद्वेसी समाज यसरी प्रकट हुने गरेको छ। अनि महिलाले दिएका उत्तरका 'डक्टर्ड' भिडियो फिँजाएर महिला राजनीतिकर्मीहरूको हुर्मत लिइने गरेको छ। बुज्रुक वर्गले समेत सामाजिक सञ्जालमा त्यसबारे टिप्पणी गरेको देख्दा उदेक लाग्ने गर्छ। जबकि हाम्रो समाजमा यौनजन्य टिप्पणी र यौनजन्य घटनामा महिला सबैभन्दा पीडित हुने गरेका छन्।
महिला सहभागिताको मुद्दामा महिलाको प्रयासले मात्र पुग्दैन, पुरुषलाई पनि सहभागी गराउनु पर्ने हुन्छ। लैंगिक असमानताका कारण पुरुषसमेत मारमा परिरहेका कारण यो पुरुषको पनि मुद्दा बन्नुपर्छ। देशको प्रधानमन्त्री अथवा नेताले महिलामैत्री विधि-विधान बनाउन मद्दत गर्न सक्लान्, त्योभन्दा बढी आम पुरुष; हाम्रै दाजु, भाइ, छोरा, श्रीमान्, ससुरालगायतको भूमिका हुन्छ। महिलाको मुद्दा महिलाले मात्रै उठाउने भन्ने रुग्ण सोचबाट पर्ने बाध्यता वा सोचबाट बाहिर निस्कन अब ढिला भइसकेको छ। हामीले हाम्रो कार्यक्षेत्र र परिवारमा समताबारे साना-साना कुरा उठाउँदै जाने हो भने लैंगिक समानता तथा महिला-उत्पादकत्व बढाउने विषयमा धेरै योगदान गर्न सक्छौँ।
आजसम्म पनि सरसफाइ र चुलो चौकोको विषय महिलाको हो भनेर हामीलाई सिकाइयो। तर घर र छोराछोरीको देखभालको काम पुरुषको पनि हो भन्ने भन्ने कुरा हामीले आफ्ना व्यवहारबाटै आफ्ना छोराछोरीलाई सिकाउँदै जानुपर्छ। व्यवहार र संस्कृतिबाटै उनीहरूलाई सिकाए मात्र उनीहरू हाम्रो पुस्ताको जस्तो विभेदकारी लैंगिक सोचबाट मुक्त हुने छन्। यो लेख पढिरहने सबै पुरुषजनसँग मेरो प्रश्न छ– हामी त्यसो गर्न किन सक्दैनौँ? मेरो अपेक्षा छ– हामी नै त्यो सुरुवात गरौँ।
एउटा सामान्य हिसाब गरौँ, नेपाली श्रीमती/आमाहरूले 'पारिश्रमिक नमिल्ने' घरको काममा दैनिक कति घण्टा खटिनुपर्छ? त्यही काममा कति प्रतिशत पुरुष सहभागी हुन्छन्? एक हप्तासम्म मात्र आमा दिदीबहिनी र श्रीमतीहरूले गर्नु भएको काममा पुरुषहरू समान सहभागिता जनाएर त्यसको अभिलेख राख्दै त्यसमा समीक्षा गर्न सक्नुहुन्छ? त्यसो गरौँ। यस्तो सानो प्रयासले आफ्ना सन्तानको भविष्य समतामूलक बनाउन ठूलो योगदान पुग्नेछ।
स्मरणीय छ, विश्वमा राजनीतिक नेतृत्वमा पुग्ने महिलाहरू धनाढ्य र शक्तिशाली परिवारभन्दा पनि प्राय: प्रगतिशील सोच भएका व्यक्तिका सन्तान छन्। अवसरका हकमा छोरीभन्दा तुलनात्मक रूपमा छोराहरूलाई सर्वत्र सहज छ, तर आफ्ना छोरीहरूलाई सफल र आत्मविश्वासी बनाउन चाहन्छौँ भने कतिपय परम्परागत मानक भत्काउँदै हामीले नै नयाँ अभ्यास र प्रयास गर्नैपर्छ।।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
