देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन छ।
जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ। यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन्।
स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घरपरिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय छैन। यहाँका सबै जना खुला स्थानमै शौच गर्दै आएका छन्। यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला/पुरूष तथा बालबालिका सबै गरेर ३७० जनाको जनसंख्या रहेको छ। यहाँ बसोबास गर्ने सबै जना गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन्।
बस्तीकै ५० वर्षीय शंकर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबु, बाजे पालादेखि नै सपपरिवार खुलामै शौच गर्दै आएको बताए। स्थानीय ६० वर्षीया बासो सदा आफूहरू सधैँ गाँस, बाँस र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु निकै परको कुरा भएको बताउँछिन्।
"यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु," उनले भनिन्।
सोही ठाउँकी अर्की महिला ४५ वर्षीया रानी सदाले बस्ने घरकै लागि पर्याप्त ठाउँ नरहेको अवस्थामा शौचालय कहाँ निर्माण गर्नु र गर्न चाहे पनि आफूहरूसँग आर्थिक सामर्थ्य नरहेको भन्दै शौचालय निर्माण गर्न नसकेको बताइन्।
शौचालयको अभाव भोगिरहेको त्यस बस्तीकी स्थानीय ६० वर्षीया महिला सुनैना देवी सदाले अरूको खेतबारीमा गएर शौच गर्दा गाली गर्ने, कुटपिट गर्ने, सर्प, बिच्छु र अन्य जनावरको डर हुने गरेको दुखेसो पोखिन्।
खर, पात, बाँस र बेतबाट बनाइएको घरबारभित्र जाडोले कठ्यांग्रिदै बसिरहेका मुसहर बस्तीमा अन्न, लुगाफाटो र रोजगारीको चरम अभाव देखिनुका साथै शिक्षा र स्वास्थ्य पनि पुग्न सकेको छैन।
चारैतिरै सबै कुराको अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरूको आफू बस्ने घरबाहेक अरू जग्गा जमिन नरहेको, खेतबारी नरहेको र सो स्थानमा सार्वजनिक जग्गासमेत नरहेको कारण उनीहरूका लागि सार्वजनिक शौचालय निर्माण गर्न नसकिएको वडा अध्यक्ष अब्दुल गफार राईनले बताए।
वडाध्यक्ष राईनका अनुसार त्यस बस्तीमा ७५ परिवार छन्। शिक्षा, स्वास्थ्य र रोजगारीको सूचकांकमा मटिहानी नगरपालिकामै सबैभन्दा पिछडीएको वडा नम्बर ४ मझौरास्थित यस बस्तीमा व्यक्तिगत जग्गाको समस्या रहनुको साथै शौचालयको निर्माण गर्न सार्वजनिक स्थानको पनि अभाव मुख्य समस्या रहेको उनले बताए।
यता देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन हुनु र त्यहाँका नागरिक अझै पनि खुला आकासमुनि नै शौच गरिरहेको कुरा आफैँमा लज्जास्पद एवं दुःखद् भएको सरसफाइविज्ञ उमाशंकर यादवले बताए।
मटिहानी नगरपालिका देशकै सबैभन्दा पुरानो गुठी लक्ष्मीनारायण मठ भएको र ३५० वर्षभन्दा पनि पुरानो, बालागुरू षडानन्दले पढेको तथा याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापीठ अझै सञ्चालनमा रहेको स्थान हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
