संविधान प्रयोगमा ढंग नपुग्दा सदन र सरकारले काम गर्न सकेन : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलहरू आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताएका छन्।

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद् र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन्। 

बुधबार पारिवारिक निजी वन संघ नेपालको ९औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले दलहरू आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताए। सरकार अप्ठ्यारोमा पर्दा संसद् विघटन गर्ने कुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने उनको जिकिर थियो। 

नेपालमा विगतमा पटकपटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसद्बारे अहिले विरोधाभास भइरहेको बताए। सरकार सञ्चालन गर्नेहरूले ढंग पुर्‍याएर संसद् चलाउन नसक्ने तर कागजलाई दोष दिएर उम्किन खोजेका आरोप लगाउँदै उनले सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद् विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरूले नै अन्देखा गर्ने गरेको दाबी गरे।

केही राजनीतिक दलहरूले संसद् विघटन नगर्ने कुरालाई सबैभन्दा ठूलो क्रान्तिकारी र परिवर्तनगामीका रूपमा लिइरहेको भन्दै अध्यक्ष तिमिल्सिनाले सरकारले केही गर्न नसकेपछि संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा गर्दा भागबन्डा गर्ने, पार्टी फुटाउने, पार्टी फुटाउन अध्यादेश ल्याउने, मन्त्री बाँड्ने र जनतामा जाने कुरालाई बेवास्ता गर्ने गरेको बताए। 

उनले भने, “हामी आफ्ना बानी सुधार नगर्ने, नियम, ऐन, कानूनलाई दोष दिने। परिवर्तन गर्ने भन्ने, परिवर्तनको चक्र घुमाएर मात्रै हामी कहाँ पुग्छौँ।”

अध्यक्ष तिमिल्सिनाले नेपालमा समस्या परेको बेलामा सहजीकरण गर्ने नभई झनै अल्झाएर राख्ने परिपाटी हाबी हुँदै गएको टिप्पणी गरे। संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सुशासन दिन नसकेकोमा दुखेसो गर्दै उनले देशको परिवर्तन भाषणमा मात्रै सीमित भएको उल्लेख गर्दै देशको सामान्य नागरिकले अझै सुशासनको अनुभूति गर्न नसकेको दाबी गरे। गणतन्त्रले नहुने मासिलाई केही दिन सक्नुपर्ने उनको भनाइ थियो। 

उनले भने, “हामी सबै के उपाय लगाएर सहजीकरण गरी राम्रो गरौँ भन्नेतिर जाँदैनौँ, कसरी अल्झाएर पन्छाऔँ भनेर जान्छौँ। अमूर्त खालका स्वार्थ पूरा भएपछि बाटो छ नि भनेर देखाउने यो सबैभन्दा ठूलो कुरा हो। सुशासन भन्छौँ, गणतन्त्र आइसकेको छ। तर हामीले सुशासन दिन सकेनौँ। हाम्रा नियतहरू कति सफा भए, भएनन् त्यहाँ हेर्नुपर्ने बेला आएको छ।”