रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ।

काठमाडौँ- बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको जसपाको राजनीतिक समिति सदस्य तथा पर्सा-१ का सांसद प्रदीप यादवले बताए।

बिहीबार सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनलगतै उपराष्ट्रपति पदका लागि २७ गते मनोनयन र ३ चैतमा मतदानको तालिका निर्वाचन आयोगले तय गरेको छ। रामसहायलाई आठ दलीय गठबन्धनको समर्थन छ। 

गठबन्धनसँग बहुमत रहेकाले रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुने निश्चितजस्तै देखिन्छ। त्यसो हुँदा बारा–२ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त हुनेछ। 

पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर निर्वाचन जित्दै आएका उपेन्द्र यादवले यसपटकको निर्वाचन हारेपछि मधेश राजनीति परिवर्तन हुन थालेको विश्लेषण गरिएको थियो। रामसहायलाई उपराष्ट्रपतिमा सारेपछि रिक्त हुने बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव फेरि उठ्ने तयारी रहेको पार्टीका नेताहरूले बताएका छन्। 

गत निर्वाचनमा सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यमा दोब्बरभन्दा बढी मतले सीके राउतबाट पराजित भएका उपेन्द्र फेरि संसद्मा पुग्ने बाटो उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारीसँगै खुल्ने भएको छ।