फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने माओवादीको धारणा

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपति उम्मेदवार फरक समुदायको महिला हुनुपर्ने धारणा आफ्नो पार्टीको रहेको बताएका छन्।

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले उपराष्ट्रपति उम्मेदवार भिन्न समुदायको महिला हुनुपर्ने धारणा सार्वजनिक गरेको छ। 

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपतिमा लैंगिक रूपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका हुन्। 

उनले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताए। आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनमा पहल गर्ने उनले बताए। 

उनले भने, “उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भए पनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रूपले फरक र सामुदायिक फरक भन्ने छ। अभ्यास हामीले के बसाल्ने प्रक्रियाको शुरू गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ। नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो। हामीले परामर्श दिनुपर्दा लैंगिक रूपले फरक हुनुपर्छ। महिला दिँदा राम्रो हुन्छ।”

त्यस्तै, महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार बिस्तार हुने बताए।